
१३ चैत्र, काठमाडौं । ‘टीकापुर साहित्य महोत्सव २०८२’ को तेस्रो संस्करण आजदेखि प्रारम्भ भएको छ। यो महोत्सव टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा सांस्कृतिक नगरी टीकापुरमा आयोजना गरिएको हो। चैत १५ गतेसम्म सञ्चालन हुने यस त्रिदिवसीय महोत्सवले भाषा, साहित्य, कला, संस्कृति र स्थानीय जनजीवनका विविध आयामलाई एउटै मञ्चमा समेट्दै राष्ट्रिय स्तरको साहित्य तथा सांस्कृतिक उत्सवको रूपमा विकास हुने अपेक्षा गरिएको छ।
टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करणलाई ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा केन्द्रित गरिएको छ। यस महोत्सवले नेपालका थारू समुदायको समृद्ध मौलिकता, परम्परा, लोकजीवन, भाषा, साहित्य, कला, संस्कृति र जीवनशैलीलाई राष्ट्रिय आकर्षण र विमर्शको केन्द्रमा ल्याउने उद्देश्य राखेको छ। महोत्सवको अवधिभर विभिन्न विषयमा २७ वटा सत्रहरू सञ्चालन गरिनेछन्, जसमा भाषा, साहित्य, कला, सङ्गीत, स्थानीय जनजीवन, इतिहास, पहिचान, राजनीति, समाज र समसामयिक मुद्दाहरूमा गहन छलफल, विमर्श र अन्तर्क्रिया हुनेछन्।
संस्थापक संयोजक महेशविक्रम शाहले यस महोत्सवमा देशका प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार, चिन्तक, पत्रकार, अनुसन्धानकर्ता र सांस्कृतिक अभियन्ताहरूको सहभागिताले महोत्सवलाई गरिमामय र समृद्ध बनाउने अपेक्षा गरिएको जानकारी दिए। तेस्रो संस्करणअन्तर्गत टीकापुर साहित्य महोत्सवको पहिलो शृङ्खलामा कर्णाली नदीमा जलविहार र थारू सांस्कृतिक नाचको प्रस्तुति हुनेछ। दोस्रो शृङ्खलामा सडक नाटक, लेखन कार्यशाला र प्रदेशस्तरीय कविता महोत्सवका कार्यक्रमहरू रहेका छन्। तेस्रो शृङ्खलामा नाटक प्रदर्शन, थारू समुदायको लोकसंस्कृति प्रदर्शन, बौद्धिक संवाद, काव्य श्रवण, गजल श्रवण, साङ्गीतिक कार्यक्रम र सुदूरपश्चिमको देउडा गायन र खेलजस्ता विविध गतिविधिहरू समावेश गरिएको छ।






