Skip to main content

सट्टेबाजी एप र वेबसाइटहरु बन्द गर्ने प्रक्रिया शुरु

समाचार अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्रायलले अनलाइन सट्टेबाजी एप २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले अवैध अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो। सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल शासन र डेटा गभर्नेन्समा केन्द्रित भएर सेवा चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

१५ चैत, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले अनलाइन सट्टेबाजी एप (बेटिङ एप) २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसँगको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र सम्बन्धित वेबसाइटहरु बन्द गर्न निर्देशन दिएलगत्तै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया शुरु गरेको हो।

सञ्चारमन्त्रीको निर्देशन पश्चात मन्त्रालयले बेटिङ बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो। बेटिङ बन्दका लागि अपरेटर्सहरुलाई निर्देशन दिई बन्द प्रक्रिया थालिएको प्राधिकरणका सहायक प्रवक्ता डा प्रदिप पौड्यालले जानकारी दिनुभयो। मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो।

त्यसपछि सञ्चारमन्त्री डा. तिमिल्सिनाले मन्त्रालय र सम्बन्धित निकायहरूसँग छलफल गरी तत्परता देखाउँदै तुरुन्त कारबाही गर्नुभएको छ। मन्त्रिपरिषद्को स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीमार्फत सरकारले देशभित्र सञ्चालन हुने सबै सट्टेबाजी एप तथा वेबसाइटलाई २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। अवैध आर्थिक कारोबार र पुँजी पलायन रोक्न सरकारले यस निर्णय गरेको जनाइएको छ।