अबै श्रम स्वीकृति आवेदन दिने दिनै दिने, अभिमुखीकरण तालिम अनलाइन मार्फत गर्ने व्यवस्था

समाचार सारांश
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० बुँदे सुधार कार्ययोजना अघि सारेको छ। अबदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ। मन्त्रालयले सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गर्ने अभियान सञ्चालन गर्ने योजना अघि सारेको छ।
१५ चैत, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० बुँदे सुधार कार्ययोजना अघि सारेको छ। सरकारले अघि सारेको १०० दिनका १०० कार्यसूची अनुसार मन्त्रालयले सुधार कार्ययोजना तयार पारेको हो। श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अबदेखि आवेदन दिने दिनमै श्रम स्वीकृति प्रदान गरिनेछ। श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली हटाएर आवेदन दिएको दिनै स्वीकृति दिने व्यवस्था गरिएको हो।
त्यसैगरी पूर्वप्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रमअनुसार श्रव्यदृश्य सामग्री तयार गरी डिजिटल माध्यमबाट उपलब्ध गराइनेछ। पूर्वप्रस्थान अभिमुखीकरण तालिम पूर्णरूपमा अनलाइन प्रणालीमा आधारित बनाउने पनि योजना बनाइएको छ। त्यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गर्नका लागि अभियान सञ्चालन गर्ने, न्यूनतम ज्याला पूर्णरूपमा कार्यान्वयन गर्ने, श्रमाधान योजना आन्तरिकीकरण गरेर श्रमाधान कल सेन्टर थप प्रभावकारी र व्यवस्थित बनाउने कार्ययोजना रहेको छ।
औद्योगिक प्रतिष्ठानहरूमा जोखिम मूल्यांकन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा (अकुपेसनल हेल्थ एन्ड सेफ्टी–ओएसएच) प्रवर्द्धन गर्ने, उत्पादन र उद्यमशीलता प्रवर्द्धन गरी आन्तरिक रोजगारी सिर्जना गर्ने योजना पनि समावेश छ। थप ५ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने समेत योजना रहेको छ। श्रम मन्त्रालयसँग सम्बन्धित कानुनमा समसामयिक सुधारका अन्तरवस्तु पहिचान गरी प्रक्रिया अघि बढाउने पनि योजना बनाईएको छ। यी सुधारात्मक पहलहरूले श्रम प्रशासनलाई पारदर्शी, छरितो र प्रविधिमैत्री बनाएर श्रमिकका हकहित संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।






