
त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा नवौं जित हात पारेको छ। आर्मीले आइतबार राति त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा रोएललाई १०२-७५ ले पराजित गर्यो। आर्मीले १० खेलबाट १९ अंकसहित दोस्रो स्थानमा रहेको छ भने गोल्डेनगेट पहिलो र टाइम्स तेस्रो स्थानमा छन्।
खेलको पहिलो क्वाटरमा आर्मीले २४-२१ को अग्रता बनाएको थियो भने दोस्रो क्वाटरमा ३३-८ को फराकिलो अन्तरको अग्रता बनाउँदै हाफटाइसम्म ५७-२९ को अग्रता बनायो। तेस्रो क्वाटरमा आर्मीले २०-१८ ले आफ्नो पक्षमा पार्दा चौथो क्वाटर भने रोएलले २८-२५ ले आफ्नो पक्षमा पारेको थियो। आर्मीका लागि निश्चल महर्जनले सर्वाधिक २२ अंक स्कोर गरे। आर्मीका सयुन राई म्यान अफ दि म्याच घोषित भए।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्।






