
त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा कुशल मल्लको अविजित ९० रनको योगदानमा बागमतीले दिएको २०९ रनको लक्ष्य ७ विकेटको क्षतिमा पुरा गर्यो। कुशल मल्लले अन्तिम २ ओभरमा ३५ रन आवश्यक हुँदा ५ छक्का प्रहार गरी आर्मीको जित सुनिश्चित गरे। बागमतीले ४ खेलमा तेस्रो हार भोग्दा आर्मीले ४ खेलमा ३ जित र एक खेल नतिजाविहीन खेलेको छ।
१५ चैत, काठमाडौं। कुशल मल्लको शानदार ब्याटिङमा त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा अपराजित यात्रा जारी राख्यो। २८ ओभरमा घटाइएको खेलमा बागमतीले दिएको २०९ रनको लक्ष्य आर्मीले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो। मल्लले ५८ बलमा ३ चौका र ८ छक्कासहित अविजित ९० रन बनाए। ओपनर तृतराज दासले ५४ र नरेन साउदले २६ रन बनाए।
बलियो लक्ष्य पछ्याउने क्रममा आर्मी ११८-५ को अवस्थामा पुगेको थियो। त्यहाँबाट मल्लले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम २ ओभरमा ३५ रन आवश्यकताका बेला पाँच छक्का प्रहार गरी एक्लै ३३ रन बनाए। सन्दीप लामिछानेलाई २७औं ओभरमा मल्लले तीन छक्का सहित २२ रन बनाए।
बागमतीका लागि इशान पान्डे र विवेक मगरले दुई-दुई विकेट लिए भने रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले एक-एक विकेट लिए।
पहिले ब्याटिङ गर्दै टस हार्ने बागमतीले निर्धारित २८ ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो। आशुतोष घिरैयाले सर्वाधिक ३८ रन बनाए भने पवन थापाले ३५ रन जोडे। आर्मीका लागि नरेन साउदले ४ विकेट लिए भने शाहब आलम, दुर्गेश गुप्ता र बसिर अहमदले एक-एक विकेट लिए।
प्रतियोगितामा आर्मीले ४ खेल खेलेको छ, जसमा ३ जित र एक खेल नतिजाविहीन रहेको छ। बागमतीले भने ४ खेलमा तेस्रो हार भोगेको छ।






