Skip to main content

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न

टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ को तेस्रो संस्करण चैत १३ देखि १५ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ। यो महोत्सव टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा आइतबार सम्पन्न भएको हो। महोत्सवले भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, सामाजिक विकास लगायतका विभिन्न सन्दर्भहरूलाई समेटेको आयोजकहरूले जानकारी दिएका छन्। महोत्सवका संस्थापक संयोजक महेशविक्रम शाहका अनुसार, तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ को विशेष सोचमा केन्द्रित थियो।

महेशविक्रम शाहले भने, “हाम्रो प्रयासले सुदूरपश्चिम प्रदेशको साहित्यिक र सांस्कृतिक पहिचानलाई थप मजबुत र दिगो बनाउँदै बहुभाषिक-बहुसांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह गरेको छ।” महोत्सव अवधिभर २१ वटा विशेष सत्र सञ्चालन गरिएको थियो, जसमा भाषा, साहित्य, कला, सङ्गीत, स्थानीय जनजीवन, इतिहास, पहिचान, राजनीति, समाज र समसामयिक मुद्दाहरूमा गहन छलफल र अन्तर्क्रिया भएको थियो। महोत्सवमा देशका प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार, सामाजिक चिन्तक, चिकित्सक, पत्रकार, अनुसन्धानकर्ता, संस्कृतिविद्, विकासविद् र पर्यटन अभियन्ताहरूको सहभागिता रहेको थियो।

महोत्सवको पहिलो श्रृंखलामा कर्णाली नदीमा जल विहार र थारू सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो। दोस्रो श्रृंखलामा सडक नाटक प्रस्तुति, लेखन कार्यशाला र प्रदेशस्तरीय कविता महोत्सवका कार्यक्रमहरू सम्पन्न भए। तेस्रो श्रृंखलाअन्तर्गत नाटक मञ्चन, थारू समुदायको लोकसंस्कृति प्रदर्शन, बौद्धिक संवाद, काव्य श्रवण, गजल श्रवण, सङ्गीत कार्यक्रमहरू तथा सुदूरपश्चिमको देउडा प्रस्तुतिसहित विविध गतिविधिहरू सम्पन्न भए। चौथो श्रृंखलामा थारू लोकसंस्कृतिको महत्त्वपूर्ण सम्पदा लोपोन्मुख ‘रामलीला नाच’ प्रदर्शन गरियो।

महोत्सवमा साहित्य, कला र सामाजिक क्षेत्रमा स्थापित व्यक्तित्वहरूको ज्ञान, अनुभव र सिर्जनात्मक यात्राका प्रत्यक्ष संवादले स्थानीय पक्षलाई लाभान्वित बनाएको महेशविक्रम शाहले दावी गरे। उनले भने, “हाम्रो प्रयासले टीकापुर नगरलाई साहित्यिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास छ।” महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि वृद्धि र सांस्कृतिक जागरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।