
१६ चैत, काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी क्षेत्रसहित युद्ध प्रभावित देशहरूमा जान चाहने नयाँ श्रमिकहरूलाई हालका लागि श्रम स्वीकृति नदिने सल्लाह दिइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले विभिन्न देशहरूमा रहेका श्रम सहचारीहरूसँग भएको भर्चुअल बैठकमा तत्काल नयाँ श्रम स्वीकृति नजारी गर्ने सल्लाह दिएका हुन्। इजरायल र अमेरिकाबीच तथा इरानसँगको द्वन्द्वका कारण खाडी क्षेत्र र इजरायल लगायतका देशहरूमा सुरक्षा जोखिम बढिरहेको छ। युद्ध अवस्था बढेसँगै श्रम मन्त्रालयले १७ फागुनदेखि साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा नयाँ श्रम स्वीकृति जारी बन्द गरेको थियो। तीमध्ये सात देशमा पुनः श्रम स्वीकृति खुला गरिएको थियो।
आजको भर्चुअल बैठकमा श्रम सहचारीहरूले वर्तमान परिस्थितिमा नयाँ श्रम स्वीकृति नजारी गर्ने सल्लाह दिएका छन्, जस्तै श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए। ‘विदा लिएर फर्कनेहरू, नेपाल आएका, कम्पनीले बोलाएका वा फर्किनुपर्ने टिकटकै साथ भएका श्रमिकहरूलाई पुनः श्रम स्वीकृति दिने कुरा ठीक छ,’ घिमिरेले भने, ‘तर नयाँ श्रम स्वीकृति दिएर केही दिनका लागि पठाउनु उपयुक्त हुँदैन भन्ने कुरा छलफलमा आएको छ।’
सम्बन्धित देशहरूमा श्रमिकहरूको आवासीय सुविधा, स्वास्थ्य परीक्षण, कार्यस्थल सुरक्षा लगायतका विषयहरूमा पनि छलफल गरिएको थियो। मध्यपूर्व, पश्चिम एसिया लगायत देशहरूमा अहिलेको जटिल अवस्था र त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको अवस्था तथा समस्या समेत छलफल गरिएको प्रवक्ता घिमिरेले बताए। वैदेशिक रोजगार बोर्डबाट सञ्चालित सेफ हाउस तथा सेल्टरहरूका लागि छुट्याइएको रकमको नियमित खर्च, सम्बन्धित निकायलाई समयमा प्रतिवेदन प्रस्तुत गर्ने, दूतावास तथा श्रम कन्सुलर र श्रम सहचारीमार्फत गन्तव्य मुलुकमा आवश्यक सूचना प्रवाह गर्ने र प्राप्त हुने गुनासो तथा जानकारी यथासम्भव छिटो छानबिन गर्ने पहल गर्ने विषयमा पनि छलफल भएको छ। दूतावासहरूमा सञ्चालन भइरहेका सेफ हाउस र सेल्टरका लागि मापदण्डका मस्यौदा तयार गर्नेबारे पनि छलफल गरिएको प्रवक्ता घिमिरेले बताए।






