दक्षिण लेबनानमा शान्ति सैनिकमाथि पुनः घातक आक्रमण, २ जनाको मृत्यु

दक्षिण लेबनानमा सोमबार युनिफिलमाथि भएको आक्रमणमा दुई शान्ति सैनिकको मृत्यु भएको र एक जना घाइते भएका छन्। इन्डोनेसियाका विदेश मन्त्रालयले मृतक सैनिक आफ्नै नागरिक भएको पुष्टि गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।
दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि पुनः घातक हमला हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। लेबनानका लागि संयुक्त राष्ट्र संघ अन्तरिम शान्ति सेना (युनिफिल)का अनुसार दक्षिणी लेबनानको बानी हय्यान गाउँ नजिकै भएको विष्फोटले शान्ति सैनिक सवार गाडीमा क्षति पुगेको थियो। सोमबार भएको यस पछिल्लो विस्फोटमा दुई शान्ति सैनिकको ज्यान गएको र एक जना घाइते भएको युनिफिलले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
यसअघि गत आइतबार पनि दक्षिणी लेबनानकै अल–कुसायर नजिकै युनिफिलको एक पोष्टमा आक्रमण हुँदा एक शान्ति सैनिकको मृत्यु भएको थियो। साथै लेबनानकै माइस–अल–जबाल भन्ने ठाउँमा नेपाली शान्ति सैनिक रहेको कमाण्ड पोष्टमा आक्रमण भएको थियो। सो आक्रमणमा शान्ति सैनिकका व्यक्तिगत केही सामानमा क्षति पुगेको भए पनि मानवीय क्षति भएका थिएनन्। सोमबार भएको आक्रमणमा मृत्यु हुने दुईमध्ये एक जना इन्डोनेशियाका सैनिक रहेको पुष्टि भएको छ।
इन्डोनेसियाले यस घटनाको निन्दा गर्दै निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेको छ। इन्डोनेसियाले दक्षिण लेबनानमा इजरायलले आक्रमण गरेको आरोप लगाउँदै लेबनानको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न, नागरिक संरचना र पूर्वाधारमाथि आक्रमण रोक्न तथा संवादको माध्यमबाट तनाव घटाउन आह्वान गरेको छ। चिन्ता र विरोध संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको विरोध गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र संयुक्त राष्ट्रसंघका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।






