इरानबाट भारततर्फ आउँदै गरेको विमान अमेरिकी हवाई हमलामा क्षतिग्रस्त

१७ चैत, काठमाडौं । इरानबाट भारतको राजधानी नयाँदिल्ली तर्फ उड्न लागेको एक विमान अमेरिकी हवाई हमलामा परि क्षतिग्रस्त भएको छ। सोमबार महान एयरलाइन्सको एउटा विमान यही हमलाबाट प्रभावित भएको हो। उक्त विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो। यो विमान औषधि र अन्य अत्यावश्यक राहत सामग्री बोकेर भारत आउन लागेको अवस्थामा हमलामा परेको हो।
अमेरिका, इजरायल र इरानबीच जारी युद्ध आज ३१औं दिनमा प्रवेश गरेको छ। यसबीच तनाव कम हुने कुनै संकेत देखिएको छैन। इरानमाथि युरोपेली संघले लगाएका प्रतिबन्ध अवधि थप गरेको छ। युरोपेली संघ (ईयू) ले इरानमाथि लागू गरेका मानवअधिकार सम्बन्धी प्रतिबन्धहरूलाई थप एक वर्षका लागि विस्तार गरेको छ। अब यी प्रतिबन्धहरू १३ अप्रिल २०२७ सम्म लागू रहनेछन्। ईयूका अनुसार, प्रतिबन्धित व्यक्ति र संस्थाहरू युरोपेली देशहरूमा यात्रा गर्न पाउने छैनन् र उनीहरूको सम्पत्ति जफत वा फ्रिज गरिनेछ।
साथै, नागरिकमाथि निगरानी वा दमन गर्न प्रयोग हुने उपकरणहरू इरानलाई निर्यात गर्न पनि रोक लगाइनेछ। त्यसैबीच, इरानको संसद सुरक्षा समितिले सोमबार होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) व्यवस्थापन योजनालाई स्वीकृति दिएको छ। इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रॉडकास्टिङ (आई.आर.आई.बी.)का अनुसार, यस योजनाले यो रणनीतिक जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने व्यवस्था गरेको छ। यस योजनामा अमेरिकी र इजरायली जहाजहरूको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने प्रावधान पनि राखिएको छ।






