
नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरूट तहदेखि जोडेर खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। मन्त्री पोखरेलले खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले काम गरेर देखाउनुपर्ने र दीर्घकालीन विकासमा दक्षता विशेष महत्व राख्ने बताए। राखेपको बोर्ड अध्यक्षको रुपमा उनी सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा निर्माणाधीन परियोजनाहरूको निरीक्षणमा सहभागी भएका थिए। १७ चैत, काठमाडौं।
मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यालय राखेप हातामै आयोजना गरेको कार्यक्रममा खेलेरै देखाउनुपर्ने र ग्रासरूट तहबाट नै खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको हो। उहाँले खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले शब्दले होइन, काम गरेर देखाउनुपर्ने, साथै सम्बन्धित सबैको दक्षतालाई सम्मान गर्दै खेलकुदको दीर्घकालीन विकासमा प्रयोग गर्नुपर्ने बताउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अच्युत लामिछानेले समग्र राष्ट्रको खेलकुदलाई अगाडि बढाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिँदै नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। राखेप सदस्य–सचिव रामचरित्र मेहताले राखेप बोर्ड र कार्यसमितिको संरचना, कार्यक्षेत्र, बजेट, पूर्वाधार स्थिति, राष्ट्रिय खेल संघ, कर्मचारी दरबन्दी, खेलाडीको रोकिएको पुरस्कार, मिसन–२०२६ अन्तर्गत वर्तमानमा रोकेको विशेष तयारी प्रशिक्षण, आन्तरिक स्रोत र ऐन संशोधनबारे संक्षिप्त जानकारी प्रस्तुत गरे।
त्यसअघि मन्त्री पोखरेललाई सदस्य–सचिव मेहतासहित राखेप कार्यकारी समिति, बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख र कर्मचारीहरूले स्वागत गरेका थिए। स्वागत समारोहपछि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, उच्च प्रदर्शन केन्द्र र पौडी पोखरी निरीक्षण गर्नुभएको थियो।






