Skip to main content

इजरायलविरुद्धको गैर-राज्यवादी शत्रु: हिजबुल्लाह

लेबनानमा आधारित शिया मुस्लिम समूह हिजबुल्लाह इजरायलसँगको द्वन्द्वमा सशस्त्र र राजनीतिक दुवै भूमिकामा सक्रिय छ। सन् २०२४ मा हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या पछि नयाँ महासचिव नइम कासिमले नेतृत्व सम्हालेका छन्। सन् २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि हिजबुल्लाहले पनि रकेट र ड्रोनमार्फत इजरायलमाथि हमला सुरु गरेको छ। लेबनानमा हिजबुल्लाहलाई ‘राज्यभित्रको राज्य’ को रूपमा चिनिन्छ। यसको स्थापना सन् १९७५ देखि १९९० सम्म चलेको लेबनानी गृहयुद्धको बीचमा भएको मानिन्छ, जसले सुरु देखि नै इजरायली अस्तित्व अस्वीकार गर्‍यो।

इरानले हिजबुल्लाहलाई सैन्य प्रविधि र उपकरणहरूमा सहयोग गर्दै आएको मानिन्छ। यस कारण यसलाई इरानको सबैभन्दा प्रभावशाली ‘प्रोक्सी’ समूहको रूपमा हेरिन्छ। अमेरिका र धेरै अन्य देशहरूले हिजबुल्लाहलाई आतंकवादी संगठनको रूपमा मान्यता दिएका छन्। ७ अक्टोबर २०२३ मा गाजा पट्टीबाट हमासले इजरायलमाथि आक्रमण गरेपछि यो समूहको नाम बारम्बार पश्चिम एसियाको तनावपूर्ण घटनाहरूमा सुनेर आउँछ। हिजबुल्लाहले इजरायलमाथि मिसाइल र ड्रोनमार्फत आक्रमण गर्दा इजरायली सेना (आईडीएफ) थप आक्रमक हुँदै लेबनानको भूमिमै आक्रमण गरिरहेको छ।

सन् २०२४ मा आईडीएफले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या गर्‍यो। त्यसपछि आईडीएफले दक्षिणी लेबनानमा स्थलगत सैन्य कारबाही सुरु गर्‍यो। उही वर्षको अन्त्यतिर युद्धविराम सम्झौता भयो, जुन अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि हिजबुल्लाहले तोडेको थियो। २८ फेब्रुअरी २०२६ मा अमेरिकाको र इजरायलको हमलामा इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्या भयो। बदलामा हिजबुल्लाहले इजरायलमाथि पुनः आक्रमण गर्दै राजनीतिमा सक्रियता पुनः जोगाएको छ।