विपद् उद्धारका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्का बेला प्रभावित नागरिकलाई तत्काल उद्धार गर्नका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्। चैत १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणको क्रममा उनले यो जानकारी दिएका हुन्। विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको जीवन जोखिममा राखेर उद्धार कार्यमा खटिने कर्मचारीप्रति गृहमन्त्री गुरुङले धन्यवाद व्यक्त गरे। सामान्य नागरिकको जीवनभन्दा ठूलो कुनै धन छैन भन्दै उनले आपतकालीन अवस्थामा नागरिकको सेवा एवं सुरक्षा गर्न नेपाल सरकार, गृहमन्त्रालय र सुरक्षाकर्मीहरूलाई सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
सशस्त्र प्रहरीले विगतमा विपद् व्यवस्थापन तालिम लिएको स्मरण गर्दै कोभिड–१९ महामारी तथा सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा उठाउने जस्ता कार्यमा सुरक्षाकर्मीसँग नजिकबाट काम गरेका कारण सुरक्षाकर्मीको कर्तव्य, अधिकार र कष्टबारे गृहमन्त्रीलाई राम्रो जानकारी छ भन्ने बताए। उनले सशस्त्र प्रहरी बल नेपालको कर्मचारीहरूलाई विपद्को सुरु हुनासाथ तयारी अवस्थामा रहन निर्देशन दिए। जनशक्ति अहिले ब्यारेकमा नभई फिल्डमै रहनुपर्नेमा जोड दिँदै विपद् व्यवस्थापनका लागि व्यापक मेहनत गर्नुपर्ने बताए।
सीमा क्षेत्रबाट हुने अवैध चोरीपैठारी र तस्करी रोक्न गृहमन्त्रीले मन्त्रालय कडाइका साथ अगाडि बढ्ने प्रतिबद्धता सुनाए। सशस्त्र प्रहरीका कर्मचारीहरूलाई १३ देखि १४ वर्षसम्म एउटै पदमा कार्यरत रहनुपर्ने बाध्यतालाई अन्त्य गर्न मन्त्रालय पहल गर्ने उनले जानकारी दिए। देशका नागरिक र सुरक्षाकर्मीका लागि केही गर्न आफूले मन्त्रालयमा आएका भन्दै गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका सेवा सुविधाहरू सरुवा, बढुवा लगायत अवसर पारदर्शी रूपमा उपलब्ध गराइने बताए।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहमन्त्रीको निर्देशनले कर्मचारीहरूको मनोबल उच्च बनेको र कार्यक्षेत्रमा अनुशासित तथा परिणाममुखी काम गर्न थप प्रेरणा मिलेको बताए। उनीहरूले अधिकार बिना कार्यक्षेत्रमा परिणाम दिन नसक्ने हुँदा सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गर्न २०५८ को विशेष नियमावली संशोधन आवश्यक रहेको उनले बताए। महानिरीक्षक अर्यालले तल्लो तहका कर्मचारीहरूले तलव र सुविधाबाट जीवनयापन गर्न गाह्रो रहेको उल्लेख गर्दै, सरकारले उनीहरूको परिवार र बालबालिकाको शिक्षा तथा स्वास्थ्य निःशुल्क गरिदिने हो भने जागिर छोडेर विदेश जानुपर्ने अवस्था नआउने बताए। कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट, अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, बंशीराज दाहाल, गणेश बहादुर ठाडामगरलगायत अधिकृत र जवानहरूको उपस्थिति थियो।






