
सांकेतिक तस्बिर। १८ चैत, काठमाडौं। ललितपुर लगनखेल क्षेत्रमा सामुदायिक कुकुरहरूलाई नियमित रूपमा खाना खुवाउँदै आएका मनोज शाक्य हुन्। उनी मंगलबजारदेखि इन्द्रचोकसम्म करिब ६० भन्दा बढी कुकुरलाई खानपिनको व्यवस्था गर्दै आएका थिए। कहिलेकाहीं ती कुकुरहरूको औषधि उपचार समेत गर्ने गर्थे। मनोजले स्याहार्दै आएको एउटा कुकुरलाई भित्र एउटा व्यक्तिले घाँटी समातेर भुइमा पछारेर हत्या गरेको घटना सोमबार सार्वजनिक भयो। उक्त कुकुर जन्मदेखि नै मनोजको हेरचाहमा थियो। आफुले सन्तानझैं माया गरेको कुकुरलाई यति निर्दयतापूर्वक हत्या गरेको देखेर मनोजले प्रहरीमा उजुरी दिएका छन्।
तर अनुसन्धानका क्रममा उक्त व्यक्तिको मानसिक अवस्था सामान्य नभएको देखिएको छ। कहिलेकाहीं उनी सामान्य व्यवहार देखाउँछन् भने कहिलेकाहीं एक्लै बर्बराउने र अनियन्त्रित गतिविधि गर्ने भएका कारण मानसिक असन्तुलित हुनसक्ने सम्भावना व्यक्त गरिएको छ। पशु अधिकारकर्मी र स्थानीयहरूको पहलमा ती व्यक्तिलाई मानव सेवा आश्रममा राखिएको छ। यस कार्यमा पशु अधिकारकर्मी एसपीसीएका बिना पन्त र इरफान खानले सहयोग गरेको मनोजले बताए। आरोपितले कुकुर मार्नुको कारण ‘रमाइलो लागेर’ गरेको प्रतिक्रिया दिएको बताइएको छ। यद्यपि, उनको मानसिक अवस्था कमजोर देखिएकोले कानुनी कारबाहीभन्दा उपचार र निगरानीलाई प्राथमिकता दिइएको छ।






