
१९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा चेतावनी दिँदै ह्वाइट हाउसबाट सम्बोधन गर्दा विश्वव्यापी तेलको मूल्य बढेको छ। यो सम्बोधन इरानमा भइरहेको तनावसँग सम्बन्धित रहेको छ। ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र इरानमा कडा सैन्य कारबाही गरिने चेतावनी दिएका छन् र भने, ‘हामी उनीहरूलाई अत्यन्त कडा प्रहार गर्नेछौं,’ साथै इरानलाई ‘ढुंगे युग’मा फर्काउने धम्की पनि दिएका छन्। बीबीसीका अनुसार, ट्रम्पको सम्बोधन सुरु हुनु अघि बेंचमार्क ब्रेन्ट क्रुड तेलको मूल्य करिब प्रति ब्यारेल १०० डलरको हाराहारीमा थियो। सम्बोधनपछि तेलको मूल्य करिब ४ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल १०५.३८ डलर पुगेको छ।
ट्रम्पले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) सन्दर्भमा कुनै नयाँ घोषणा गर्ने आशा गरिएको थियो, तर त्यसबारे नयाँ जानकारी नआएपछि तेलको मूल्यमा वृद्धि भएको बीबीसीले उल्लेख गरेको छ। होर्मुज जलडमरूमध्य विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ, किनभने विश्वको करिब २० प्रतिशत ऊर्जा व्यापार यही साँघुरो समुद्री मार्गबाट हुने गर्दछ। फेब्रुअरी २८ मा संयुक्त अमेरिकी र इजरायली आक्रमणपछि यो मार्ग प्रायः बन्द भएको छ, किनभने इरानले अमेरिकी र इजरायली हवाई आक्रमणको जवाफस्वरूप यस जलमार्ग प्रयोग गर्ने जहाजहरूलाई निशाना बनाउने चेतावनी जारी गरेको छ।
सम्झौता नभए ऊर्जा संरचनामा आक्रमण गर्ने धम्की ट्रम्पले वार्ता असफल भए इरानका प्रमुख विद्युत् उत्पादन केन्द्रहरूलाई लक्षित गरी कडा आक्रमण गरिने चेतावनी दिएका छन्। ‘यदि सम्झौता भएन भने हामी सबै मुख्य विद्युत् संयन्त्रहरूलाई एकैपटक कडा प्रहार गर्नेछौं,’ उनले भनेका छन्। ट्रम्पले अहिलेसम्म इरानको तेल पूर्वाधारमा आक्रमण नगरेको पनि स्पष्ट पारे। ‘हामीले तेल पूर्वाधारमा आक्रमण गरेका छैनौं, किनभने त्यसले उनीहरूको पुनर्निर्माणको सम्भावना नै समाप्त पार्ने थियो,’ उनले भने।
इरानको सैन्य क्षमतामा गम्भीर नोक्सानी आएको दाबी ट्रम्पले अमेरिकी कारबाहीले इरानको नौसेना, वायुसेना र क्षेप्यास्त्र कार्यक्रमलाई झण्डै नष्ट गरेको दाबी गरेका छन्। ‘इरानको नौसेना समाप्त भइसकेको छ, वायुसेना निष्क्रिय अवस्थामा रहेको छ र क्षेप्यास्त्र क्षमता लगभग समाप्त भइसकेको छ,’ उनले भने। उनका अनुसार यी कारबाहहरूले इरानको आणविक कार्यक्रम र क्षेत्रीय प्रभाव विस्तार क्षमतालाई गम्भीर असर गरेका छन्। खाडी सहयोगीहरूको प्रशंसा ट्रम्पले सुरूमा कूटनीतिक समाधानलाई प्राथमिकता दिइएको र इरानले आणविक हतियार खोज्ने प्रयास जारी राखेको आरोप लगाए। उनीहरूले सम्झौताको सबै प्रयास अस्वीकार गरेको पनि बताए। इजरायल, साउदी अरेबिया, कतार, यूएई, कुवेत र बहराइन लगायतका सहयोगी राष्ट्रहरूको समर्थनको प्रशंसा गर्दै उनले भने, ‘हामी उनीहरूलाई कुनै पनि अवस्थामात्र असफल हुन दिने छैनौं।’ ट्रम्पको बयानले युद्ध छिट्टै निर्णायक चरणमा पुग्न सक्ने संकेत गरेको छ। एकातिर कूटनीतिक वार्ता जारी रहने भएकोले अर्कोतिर कडा सैन्य विकल्प समेत कायम छ। यसले होर्मुज जलडमरूमध्य, विश्वव्यापी ऊर्जा आपूर्ति र तेल मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।





