Skip to main content

गोल्डेनगेटको ११औं जित, हाउण्ड्सको चौथो हार

गोल्डेनगेट बास्केटबल क्लबले एचजेएनबीएलमा केभिसी हाउण्ड्सलाई ९१-७८ ले पराजित गर्दै ११औं जित हासिल गरेको छ। गोल्डेनगेटले १२ खेलबाट २३ अंकसहित शीर्ष स्थान कायम राखेको छ भने हाउण्ड्स २० अंकसहित चौथो स्थानमा रहेको छ। लिगमा शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् र विजेताले नगद ४ लाख पुरस्कार प्राप्त गर्नेछन्। १९ चैत, काठमाडौं।

हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बिहीबार सम्पन्न पहिलो खेलमा गोल्डेनगेट बास्केटबल क्लबले आफ्नो ११औं जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले केभिसी हाउण्ड्सलाई ९१-७८ ले पराजित गर्‍यो। पहिलो क्वाटर गोल्डेनगेटले २६-२२ को अग्रता बनायो, दोस्रो क्वाटरमा दुवैले समान २०-२० अंक थपे। तेस्रो क्वाटरमा गोल्डेनगेटले २७-१९ को अग्रता लिएर आफ्नो अग्रता बढायो भने चौथो क्वाटर १८-१७ ले आफ्नो पक्षमा पार्‍यो।

यो गोल्डेनगेटको १२ खेलमा ११औं जित हो र २३ अंकसहित शीर्ष स्थानमा कायम छ। गोल्डेनगेटले शीर्ष स्थानमा २ अंकको अन्तर बनाएको छ। एक खेल कम खेलेका त्रिभुवन आर्मी क्लब र टाइम्स बास्केटबल क्लब समान २१ अंकसहित छन् र यी दुई टोली आज प्रतिस्पर्धा गर्दैछन्। हाउण्ड्सको यो चौथो हार हो। संयोगवश हाउण्ड्सले पछिल्लो पटक पनि गोल्डेनगेटसँग ९१-८७ ले हार भोगेको थियो। यसबाट गोल्डेनगेटले हाउण्ड्समाथि डबल जित हासिल गरेको छ। यो हारपछि हाउण्ड्सको आठ खेल लगातारको विजयी यात्रा रोकिएको छ।

सुरुवाती तीन खेलमा पराजित भएपछि उनीहरूले लगातार आठ खेल जितेका थिए। १२ खेलमा २० अंकसहित हाउण्ड्स चौथो स्थानमा छन्। गोल्डेनगेटका निकेश मगर ‘प्लेयर अफ दि म्याच’ घोषित भए। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविन प्रणालीमा खेलाइने लिगमा कुल ५६ खेल हुनेछन्। लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।