Skip to main content

अमेरिका-इजरेल इरान आक्रमणः इरानको युरेनिअम जफत गर्दा अमेरिकालाई किन जोखिमपूर्ण हुन्छ?

अमेरिकी सेनाले इरानको संवर्धित युरेनिअमको भण्डार जफत गर्नका लागि गोप्य र भूमिगत परमाणु केन्द्रमा हमला गर्नु टाढाको कुरा जस्तो सुनिन सक्छ। तर यो एउटा विकल्प हो जुन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धमा आफ्नो मुख्य उद्देश्य हासिल गर्न विचार गरिरहेको ठानिएको छ: यसले इरानलाई परमाणु अस्त्र तयार पार्नबाट रोक्नेछ। सैन्य विज्ञ र अमेरिकी पूर्व रक्षा अधिकारीहरूका अनुसार यस्तो काम अत्यन्त चुनौतीपूर्ण र खतरापूर्ण हुनेछ। उनीहरूले यसका लागि स्थलगत सेना परिचालन गर्नुपर्ने र यो पूरा हुन धेरै दिन वा साता लाग्न सक्ने बताएका छन्।

मध्यपूर्वका लागि पूर्व उपसहायक रक्षामन्त्री मिक मलरोयले युरेनिअमको भण्डार हटाउनु “इतिहासको सबैभन्दा जटिलमा पर्ने विशिष्ट कारबाहीहरू” मध्ये एक हुने बताए। यो गतिविधि ट्रम्पले इरानमा गर्नसक्ने कैयौँ सैन्य कारबाहीमध्ये एक हो। उनले चाल्नसक्ने अन्य कदममा अमेरिकाले खार्ग टापुलाई नियन्त्रणमा लिएर इरानलाई स्ट्रेट अफ होर्मुजलाई पुन: पूर्ण रूपमा खोल्न दबाव दिने प्रयास पनि पर्छ। अमेरिकी प्रशासनले इरानलाई वार्ताको टेबलमा आउन दबाव दिन नयाँ सैन्य कारबाहीको धम्की दिइरहेको पनि गरिरहेको हुनसक्छ।

राष्ट्रपति ट्रम्पले इरानको ‘इनरिच्ड युरेनिअम’ नहटाई वा नष्ट नगरी युद्धमा जीत घोषणा गर्न सम्भव छ कि छैन भन्न अस्वीकार गरेका छन्। तर उनले गत जुनमा अमेरिका-इजरेल आक्रमणमा भएको क्षतिलाई औँल्याउँदै त्यसतो भण्डारलाई कम महत्त्व दिएको देखियो। “यो यति गहिरो छ कि यो कसैका लागि पनि धेरै गाह्रो हुनेछ,” ट्रम्पले भने। वाल स्ट्रिट जर्नलले अमेरिकाले उक्त परमाणु पदार्थ निकाल्ने तयारीका बारे विचार गरिरहेका समाचार सार्वजनिक गरेपछि उनको यो भनाइ आएको हो। ह्वाइट हाउसले भने ट्रम्पले अझै अन्तिम निर्णय गर्न बाँकी रहेको जनाएको छ।