Skip to main content

सुरेन्द्र पाण्डे भन्छन्– संसदमा षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेतृ रामबहादुर थापा बादलको विवादास्पद अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै दोष अरूमाथि देखाउने राजनीतिले अब काम नलाग्ने बताउनुभएको छ। पाण्डेले एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यताले पछिल्लो राजनीतिक अवस्थाको सिर्जनामा योगदान दिएको उल्लेख गर्नुभयो।

पाण्डेले फेसबुकमा लेख्नुभएको छ, ‘हिजो संसदमा “षड्यन्त्र” का लामा कथा सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो – सबै दोष अरूलाई! हामी पनि दोषी छौं – यस वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र?’ उहाँले ‘घेराबन्दी’ मा परेको भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भएको टिप्पणी गर्दै भन्नुभयो, ‘अबको एउटा मात्रै वास्तविक राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ-आफ्ना एजेन्डा मात्र हुन्।’

भदौ २३ र २४ गतेको घटनाको छानबिन हुनुपर्ने उहाँले बताउनुभयो र थप भन्नुभयो, ‘तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल खाएको छैन भन्ने यथार्थलाई बेवास्ता गर्नु हुँदैन।’ एमालेका कार्यवाहक अध्यक्ष समेत रहेका बादलले भदौ २३ र २४ गतेको जनजीवन आन्दोलन र फागुन २१ को निर्वाचन सन्दर्भमा सम्पूर्ण परिणाम षड्यन्त्र र विभिन्न निकायहरूको मिलेमतोको नतिजा भएको अभिव्यक्ति दिएको थिए।

बादलको विवादास्पद अभिव्यक्तिले एमालेभित्र हलचल सिर्जना गरेको छ। उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिका विषयमा आजको सचिवालय बैठकमा गम्भीर छलफल हुने र उपयुक्त निर्णय गरिने बताउनुभएको छ।