
नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार २०८१’ को घोषणा गरेको छ। यस वर्ष नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान ९ जना स्रष्टालाई प्रदान गरिनेछ। साथै, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, प्रतिभा पुरस्कार, शास्त्रीय सङ्गीत पुरस्कार र कला पत्रकारिता पुरस्कार पनि प्रदान गरिने जानकारी दिइएको छ।
काठमाडौँमा जारी गरिएको विज्ञप्तिमा पुरस्कार प्राप्त गर्ने स्रष्टाहरूको नामावली सार्वजनिक गरिएको छ। मुलुकको राजनीतिक अवस्था, आमनिर्वाचन र शोकका कारण स्थगित गरिएको सम्मान कार्यक्रम यसपटक भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरिएको छ। कालजयी संगीतकार नातिकाजी श्रेष्ठको स्मृतिमा स्थापित यस समाजले हरेक वर्ष स्रष्टाहरूको पहिचान र प्रोत्साहनका लागि यस प्रकारका सम्मान प्रदान गर्दै आएको छ।
सम्मानित हुने स्रष्टाहरूमा गीतकार नारायणकुमार आचार्य, गायक जुजुकानी रञ्जित, गीतकार वीरेन्द्र पाठक, गायक शशी गुरुङ, गायक गणेश पराजुली, गीतकार भीमार्जुन आचार्य, संगीतकार निर्वाणसिंह गुरुङ, गीतकार साबु गदाल र गीतकार तथा संगीतकार अष्ट लामा रहेका छन्। नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारबाट मनोज खड्का, गायक रोशन गुरुङ, संगीतकार ताराप्रकाश लिम्बु, गायिका सरिता शाही, एरेन्जर चाँद सिंह र रेकर्डिष्ट महेश्वर राजभण्डारीलाई पुरस्कृत गरिनेछ। नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गायिका सहिमा श्रेष्ठ, गायक सुरेश लामा र गायिका विपना तामाङलाई सम्मान गरिने छ। शास्त्रीय सङ्गीत पुरस्कारको विधामा प्रमोद उपाध्यायलाई सम्मान गरिनेछ भने नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गरिनेछ।






