Skip to main content

स्कुल सञ्चालक र पाले पक्राउ परेका छन्

समाचार सारांश: सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीय बालकको शंकास्पद मृत्युमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्कुल सञ्चालक ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र पाले ४१ वर्षीय भोला मण्डल रहेका छन्। दुवैमाथि आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान भइरहेको छ भने घटनामा बालककी आमा ममता साहले कुटपिट र ढिलो खबर गरेको आरोप लगाएकी छन्। २० चैत, सप्तरी।

सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कूलको होस्टलमा १४ वर्षीय बालकको ‘शंकास्पद’ मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० का ४१ वर्षीय भोला मण्डल रहेका छन्। चौधरी स्कुलका सञ्चालक हुन् भने मण्डल पालेका रूपमा कार्यरत छन्।

पक्राउ परेका दुवैमाथि आत्महत्या दुरुत्साहन कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ भन्ने जानकारी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले दिनुभयो। विगत ७ वर्षदेखि होस्टलमा बस्दै आएका खडक–९ लालपट्टीका धर्मेन्द्रकुमार साह ७ चैत शनिबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

घटनापछि स्कुलका सञ्चालक चौधरी र उनकी श्रीमती शोभा, पाले मण्डललगायतले धर्मेन्द्रलाई अस्पताल पुर्‍याएपछि मात्र परिवारजन र प्रहरीलाई खबर गरेका थिए। बालककी आमा ममता साहले छोरालाई स्कुलका सञ्चालक चौधरीकी श्रीमती शोभासहितले कुटपिट गरेको, ढिलो गरी घटनाबारे खबर गरेको र सीसीटीभी समेत घटनाको बेला बन्द राखेको भन्दै ‘शंकास्पद’ भएको दाबी गर्दै आएकी छन्। तर, प्रहरीले अहिलेसम्म शोभालाई नियन्त्रणमा लिएको छैन। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।