
हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ मा रोएलले सोलो बास्केटबल क्लबलाई ७८-६७ अंकले पराजित गरेको छ। प्लेबक्स एरेनाले कीर्तिपुरलाई ८३-७१ अंकले हराएर आफ्नो तेस्रो विजय हासिल गरेको छ। लिगमा शीर्ष चार टोलीले प्लेअफ प्रवेश गर्नेछन् र विजेताले नगद ४ लाख पुरस्कार पाउनेछ। २० चैत, काठमाडौं।
एचजेएनबीएल २०२६ मा शुक्रबार रोएल र प्लेबक्स एरेनाले विजयी प्रदर्शन गरेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा पहिलो खेलमा रोएलले सोलो बास्केटबल क्लबलाई ७८-६७ ले हरायो। खेलमा दुवै टिमले दुई-दुई क्वार्टर आफ्नो पक्षमा पारे पनि रोएलले रोमाञ्चक जीत हासिल गर्यो। रोएलले पहिलो क्वार्टरमा २५-७ को अग्रता बनाएको थियो। दोस्रो क्वार्टरमा सोलोले २६-१४ ले आफ्नो पक्षमा पारे तर हाफटाइमसम्म रोएल ३९-३३ ले अघि रह्यो।
सोलोले तेस्रो क्वार्टरमा पनि २७-१७ ले आफ्नो पक्षमा पारेपछि चौथो क्वार्टर अघि सोलोले ६०-५६ को अग्रता बनाएको थियो। तर चौथो क्वार्टरमा रोएलले पुनरागमन गर्दै २२-७ को स्कोर बनाएर ७८-६७ ले विजय हात पारे। यो रोएलको १३ खेलमा दोस्रो जीत हो। रोएलले १३ खेलबाट १५ अंक जोडेको छ। सोलोको यो ११ औं हार हो।
शुक्रबारको दोस्रो खेलमा प्लेबक्स एरेनाले कीर्तिपुरलाई ८३-७१ ले पराजित गरेको छ। पहिलो क्वार्टरमा कीर्तिपुरले २२-२१ को अग्रता बनाएको थियो। तर दोस्रो क्वार्टरमा प्लेबक्सले खेलमा फर्कदै २०-१६ ले आफ्नो पक्षमा पारे र हाफटाइमसम्म ४१-३८ को अग्रता बनायो। प्लेबक्सका सुदिप कार्की म्यान अफ दि म्याच घोषित भएका छन्। उनले १६ अंक बनाएका छन्। नेपाल बास्केटबल संघ (नेबा) को आयोजना भएको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।






