
२० चैत्र, सप्तरी। सप्तरीमा किशोरीलाई ललाइ-फकाइ गरी बेपत्ता बनाएको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। जिल्लाको बोदेबर्साइन नगरपालिका–१४ निवासी स्मृतिकुमारी मण्डललाई बहकाएर बेपत्ता पारेको आरोपमा सोही नगरपालिका–९ का २१ वर्षीय चन्दन दासलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, भदौ २ गते महेन्द्र चुनी माध्यमिक विद्यालय मानराजामा परीक्षा दिइसकेपछि घर फर्किने क्रममा मण्डललाई विभिन्न प्रलोभन देखाएर बेपत्ता पारेको छ। यस प्रकरणमा कञ्चनकुमारी दास, राजवृक्ष दास र सुरेन्द्र दासको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका चन्दनलाई बिहीबार बिहान सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। पक्राउ परेका दासलाई व्यक्ति बेपत्ता पारेको सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतले सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताए।





