
२१ चैत, काठमाडौं । प्रहरी गुण्डागर्दीविरुद्धको अपरेशनमा जुटेको छ। नयाँ जनादेश अनुसार सरकार गठन भएपछि प्रहरी गुण्डागर्दीविरुद्ध अभियानमा सक्रिय भएको हो। यस अभियानको सुरुवातसँगै गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका छन्।
अपराध अनुसन्धान कार्यालका एसएसपी सन्तोष खड्काले शुक्रबार राति १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ गरिएका व्यक्तिहरुमा अशोक गरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोससमेत रहेका छन्। यसै क्रममा परिसरले पनि ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। परिसरले श्याम लामा समूहका प्रविण गुरुङ, बाफल एरियामा गुण्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकी क्षेत्रका सुनज कार्की र स्यूचाटार क्षेत्रका सरु हुमागाईंलाई पक्राउ गरेको हो।
पछिल्लो समय प्रहरीले बिचौलियाहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। विभिन्न सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी भएको गुनासो आएपछि प्रहरी सक्रिय भएको हो।






