
पूर्वसचिव किशोर थापाले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालले ‘कर्मचारीलाई अतिरिक्त शुल्क नदिन निर्माण व्यवसायीहरूलाई दिएको निर्देशन’ साहसिक भएको टिप्पणी गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग चैत १५ गते भएको भेटघाटमा मन्त्री लम्सालले त्यस्तो आग्रह गरेको महासङ्घका निवर्तमान अध्यक्ष रवि सिंहले बताए। “(मन्त्रीले) निर्माण कम्पनीका कुनै पनि सदस्यले अब अनुचित लेनदेन नगरी मलाई सहयोग गरिदिनुहोस् भन्नुभएको छ,” सिंहले भने, “हामीले तत्कालै महासङ्घको बैठक गरेर देशभरिका निर्माण व्यवसायीहरूलाई सूचना गरिसकेका छौं।”
पूर्वसचिव थापाले सचिव र महानिर्देशकलाई समेत राखेर मन्त्रीले निर्माण व्यवसायीहरूलाई त्यसरी निर्देशन दिएको अहिले सम्म आफूलाई सम्झना नभएको बताए। “मेरो जानकारीमा अहिलेसम्म कुनै मन्त्रीले त्यस्तो गर्ने साहस गरेका थिएनन्,” उनले भने, “किनभने मन्त्रीको साँठ-गाँठ निर्माण व्यवसायी र बिचौलियासँग निकै गहिरो हुन्थ्यो।” मन्त्रीको निर्देशनबारे महासङ्घले सबै व्यवसायीलाई जानकारी गराएको पत्र पनि सार्वजनिक भएको छ। जसमा उल्लेख छ कि ‘अहिलेदेखि निर्माण व्यवसायीहरूले निर्माणाधीन आयोजनासम्बन्धी कुनै पनि तह र स्तरका सरकारी अधिकारीहरूलाई अतिरिक्त शुल्क नदिन र कुनै पनि सरकारी अधिकारीले त्यस्तो शुल्क यदि मागेमा सिधै मलाई (मन्त्रीबाट) जानकारी गराउन निर्देशन प्राप्त भएको छ।’
एकजना निर्माण व्यवसायीले ‘अब नदिने’ भनी बताएपछि पहिले दिँदै आएको यथार्थ झल्किएको संकेत गरे। पहिले १०-१५ प्रतिशतसम्म दिनुपर्ने कमिसन हाल ५-६ प्रतिशतमा झरेको अनुभव उनले सुनाए। उनले कमिसन सुरु हुने बिंदु र त्यसको दरबारे जानकारी दिए, “ठेक्का भएपछि सम्झौतामा हस्ताक्षर गर्दा ०.५ देखि २.५ प्रतिशतसम्म दिनुपर्ने हुन्छ,” उनी भन्छन्, “त्यसपछि हरेक रनिङ बिलमा ठेक्का सकिने बित्तिकै ४-५ प्रतिशतसम्म दिनुपर्ने गरेको छ। त्यो रकम मन्त्रीसम्म पुग्थ्यो, अब पुग्ने छैन।”
सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापाले पनि त्यो कुरा स्वीकार गर्ने तर त्यो चलन स्थापित छ भन्न सहज नभएको बताएका छन्। उनका अनुसार विभागीय मन्त्री संलग्न नभएसँगै त्यो चलन कम हुन थाल्ने बताउँछन्। त्यसैले मन्त्री लम्सालको निर्देशन सकारात्मक र पहिलो कदम भए पनि पर्याप्त भने नभएको उनको बुझाइ छ। किनकि मन्त्रीसँगै राजनीतिक दलहरूले पनि कर्मचारी र व्यवसायी दुबैलाई रकम संकलनको माध्यम बनाउने गरेको उनी बताउँछन्।






