
नेपाल कबड्डी लिग (एनकेएल) र रियालिटी शो ‘नेपहपको श्रीपेच’ बीच सहकार्य भएको छ, जसअन्तर्गत आगामी सिजनमा खेलसँगै हिपहप संगीतको संयोजन प्रस्तुत गरिनेछ। एनकेएल सिजन २ आगामी जेठ २२ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ र ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। १६ देशका १ सय बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् र प्लेयर्स ड्राफ्टबाट टिमहरूले खेलाडी छनोट गर्नेछन्।
यो सहकार्य एनकेएल सिजन २ र ‘नेपहपको श्रीपेच’ सिजन ३ का लागि गरिएको हो। आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्ट र शोका संस्थापक सुदीप पोखरेलबीच शुक्रबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। एस्ट्रोनिक्सका सीईओ विकास अग्रवालले खेल र मनोरञ्जनलाई जोड्ने यो सहकार्यले नयाँ आयाम थप्ने बताएका छन्। उनले भने, ‘एनकेएल र नेपहपको सहकार्यले नेपालमा नयाँ युगको सुरुआत गर्दै स्पोर्ट्स र मनोरञ्जन हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदैछ। हामी एउटा मुभमेन्ट निर्माण गर्दैछौं, जहाँ कबड्डीको शक्ति र हिपहपको आवाजले नयाँ कथा लेख्नेछ। अब कबड्डी केवल खेल होइन, यो युवाको आवाज, संस्कृतिको ऊर्जा र देशको नयाँ पहिचान बन्नेछ।’
संस्थापक सुदीप पोखरेलले रियालिटी शो र खेल लिगबीच पहिलोपटक यस्तो सहकार्य हुनुले कलाकार र खेलाडी दुवैका लागि नयाँ अवसर सिर्जना हुने बताए। उनका अनुसार, शोका र्यापरहरूले एनकेएलका टोलीका लागि एन्थम तयार गर्नेछन् जसले खेलमा थप ऊर्जा भर्नेछ। कार्यक्रममा ‘नेपहपको श्रीपेच’ का निर्णायकद्वय भियोमा र मानस घले पनि उपस्थित थिए। उनीहरूले र्याप र एनकेएलको सहकार्यले खेल र संगीत दुवैलाई फाइदा पुर्याउने बताए। एनकेएल सिजन २ को एन्थम पनि भियोमाले तयार गरेका हुन्।
सिजन २ मा विराटनगर बाहुबली, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवल बुल्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्नेछन्। सम्झौताअनुसार ‘नेपहपको श्रीपेच’ का प्रतिस्पर्धीहरूले विभिन्न टोलीका लागि एन्थम बनाउनेछन् र विजेताले नगद पुरस्कार पाउनेछन्। एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले विश्वकै उत्कृष्ट खेलाडीहरू एनकेएल सिजन २ खेल्न नेपाल आउन इच्छुक रहेको बताएका छन्। अहिलेसम्म १६ देशका १ सय बढी विदेशी खेलाडीले नाम दर्ता गरिसकेका छन् र प्लेयर्स ड्राफ्टको माध्यमबाट टिमहरूले खेलाडी छनोट गर्नेछन्।






