Skip to main content

तिलोत्तमामा एक अर्बभन्दा बढी लगानीमा टाइगर फरेस्ट होटेलको उद्घाटन

२१ चैत, बुटवल। रूपन्देहीको तिलोत्तमा १३ चिल्हियामा लुम्बिनी प्रदेशकै पहिलो बियर गार्डेनसहित टाइगर फरेस्ट होटेल सञ्चालनमा आएको छ। तिलोत्तमाका उद्यमी मिनराज भूसालले यस क्षेत्रको नयाँ र मौलिक पहिचान दिने उद्देश्यले ५ बिघा क्षेत्रफलमा बियर गार्डेनसहितको होटेल सञ्चालनमा ल्याएका छन्। हाल उक्त होटेलमा एक अर्ब बढी लगानी भएको छ र यसमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको कर्जा लगानी रहेको जनाइएको छ। होटेलका संचालक भूसालका अनुसार, यो होटेल हरियाली जंगलसँगै जोडिएको छ र होटेलका कोठाहरू पूर्ण रूपमा सल्लाको काठबाट बनेका (उडन भिल्ला) छन्। साथै, यहाँ बोतलमा सिलबन्दी नगरिएको आफ्नै उद्योगको ताजा (ड्राफ्ट) बियर उपलब्ध छ। भूसाल स्वयं बाह्रसिंगे ब्राण्डका पनि सञ्चालक हुन्।

पाँचतारे टाइगर प्यालेस रिसोर्टसँग जोडिएको यो होटेल दक्षिणतर्फ सञ्चालनमा आएको हो। पहिलो चरणमा यहाँ बियर गार्डेन, २० वटा उडन भिल्ला (कोठा), ५० जना क्षमताको हल, चौतारी बार, डान्स क्लब र स्पा सञ्चालनमा आएका छन्, संचालक भूसालले जानकारी दिए। उडन भिल्लाको डिजाइन अष्ट्रियन इन्जिनियरले गरेका हुन्। यस्तो उडन भिल्ला र ड्राफ्ट बियर गार्डेन त्रिशुली किनारको कुरिनटारमा बाह्रसिंगे बियर उद्योग बाहेक अन्यत्र छैन, भूसालले बताए। करिब दुई सय जनासम्म क्षमता भएको चिनियाँ रेष्टुरेन्ट र एक हजार जनाको क्षमताको बैंक्वेट हलको निर्माण अन्तिम चरणमा पुगेको छ। नेपाली नयाँ वर्षमा होटेलको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको संचालक भूसालले बताए।

निकट भविष्यमा थप ४० वटा कोठा, स्वीमिङ पूल र मिनी क्यासिनो निर्माण गरी चारतारे होटेलको स्वीकृति लिने तयारी भइरहेको उनले जानकारी दिए। ‘आन्तरिक र भारतीय पर्यटकलाई नयाँ विशेषता सहितको नवीनतम आतिथ्य सेवा दिने उद्देश्यले होटलमा लगानी गरेको हुँ,’ भूसालले भने, ‘खुला आकाशमुनि हरियाली वातावरणमा बसेर ताजा बियरको अनुभव लिन मिल्ने सुविधा क्षेत्रकै नयाँ अनुभवका रूपमा प्रस्तुत गरेका छौं।’ बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकहरू पनि रिसोर्टका लक्षित पाहुनाहरु रहेको उनले बताए।

देशमा राजनीतिक स्थिरता र व्यवसायिक वातावरण बनेमा आगामी भविष्यमा थप १५० करोड रुपैयाँ लगानी गरी पाँचतारे होटेलमा स्तरोन्नति गर्दै भारतीय पर्यटक लक्षित सेवा सुविधा थप्दै जाने योजना रहेको भूसालले बताए। ‘सहरभन्दा टाढा, शान्त र हरियाली वातावरणमा बनिरहेको यो रिसोर्ट प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने छ भन्ने विश्वास छ,’ भूसालले भने, ‘प्राकृतिक परिवेश, खुल्ला ठाउँ र मौलिक संरचनाको शैलीले रिसोर्टलाई परम्परागत होटलभन्दा फरक बनाएको छ। भविष्यमा यसलाई नेपालकै उदाहरणीय वेलनेस र मनोरञ्जन पर्यटन स्थल बनाउने लक्ष्य छ।’ हाल रिसोर्टले करिब ७० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको जनरल म्यानेजर क्षितिज खनालले बताए। आन्तरिक तथा लुम्बिनी आउने विदेशी र भारतीय पर्यटकलाई फरक अनुभव दिने लक्ष्यसहित अघि बढेको यो होटेल तिलोत्तमाको मात्र नभई प्रदेशकै नमुना पर्यटन गन्तव्य बन्ने अपेक्षा गरिएको नगर प्रमुख रामकृष्ण खांणले बताए।