Skip to main content

२३ वर्षीया पूर्णिमा शाहले मिथिला स्वादको कमान्ड सम्हालिन्

पूर्णिमा शाहले नर्स बन्ने सपना अधुरो रहँदा भान्सामा आफ्नो वास्तविक रुचि पहिचान गरिन् र होटल म्यानेजमेन्ट अध्ययन गरिन्। सिराहाको कर्जन्हा नगरपालिकामा जन्मिएकी पूर्णिमा शाहका सपना सुरुमा भान्सासँग जोडिएका थिएनन्। प्लसटुमा विज्ञान विषय पढेपछि उनको लक्ष्य नर्स बन्ने थियो। तर छात्रवृत्तिमा नाम ननिस्किँदा त्यो सपना अधुरै रह्यो। निराश मन लिएर उनी घर फर्किइन्। यो धेरै युवाहरूको जीवनमा हुने एउटा मोड थियो। तर कहिलेकाहीँ जीवनले हामीलाई त्यही बाटोमा डोर्‍याउँछ जहाँ हाम्रो वास्तविक रुचि लुकेको हुन्छ। पूर्णिमाको त्यो रुचि भान्सामा थियो, जसलाई उनले सानैदेखि महसुस गर्दै आएकी थिइन्।

उनको यही रुचिलाई पहिचान गरे सेफ सन्तोष शाहले। सेफ सन्तोषले पूर्णिमालाई नयाँ बाटो देखाए। ‘तिमीलाई खाना बनाउन मन छ भने त्यही विषय पढ, होटल म्यानेजमेन्ट गर, म सहयोग गर्छु’ उनले भने। यही सुझावले पूर्णिमाको जीवनको दिशा बदल्यो। जनकपुरमा प्लस टु सम्मको पढाइपछि पूर्णिमा काठमाडौं आइन् र धुम्बाराहीस्थित गेट कलेजमा होटल म्यानेजमेन्ट अध्ययन सुरु गरिन्। उनी पढाइमा अब्बल थिइन्। दोस्रो स्थानमा कहिल्यै झर्नु परेन।

उनको सिकाइ कक्षाकोठामा मात्रै सीमित रहेन। ‘अनुभव बिना पढाइ अधुरो हुन्छ’ भन्ने सोचले उनले होटलमा काम गर्दै पढाइ अघि बढाइन्। उनले ‘सेफ नेपाल’ नामक रियालिटी सोमा पनि प्रतिस्पर्धा गरिन् र सातौँ स्थानसम्म पुगिन्। कलेजकै तालिमका लागि दुबई जानुपर्ने भएपछि उनले प्रतियोगिता छाडेकी थिइन्। दुबईमा दुई वर्षको अनुभवले उनको आत्मविश्वास अझ बलियो बनायो। नेपाल फर्किएपछि पूर्णिमा मास्टर सेफ सन्तोष साहले सञ्चालन गरिरहेको नक्सालको गैरीधारास्थित मिथिला थालीमा आबद्ध भइन्। अहिले २३ वर्षकै उमेरमा उनले त्यहाँको सम्पूर्ण भान्सा सम्हालिरहेकी छिन्।

उनका लागि भान्सा काम मात्र होइन, आनन्द हो, जीवन हो। मिथिला थाली केवल खाना खाने ठाउँ मात्र होइन, एउटा सांस्कृतिक अनुभव हो। यहाँ प्रस्तुत गरिने प्रत्येक परिकारले मधेस र मिथिला क्षेत्रको जीवनशैली, परम्परा र स्वादलाई एकै थालमा उतार्ने प्रयास गर्छ। परिकारको संयोजन, पस्कने शैली र स्वादको सन्तुलनले मिथिला थालीलाई अरू भोजनालयभन्दा फरक बनाउँछ। पूर्णिमा भन्छिन्, ‘मलाई भान्सामा कहिल्यै अल्छी लाग्दैन। परेका बेला राति दुई बजे उठेर पनि खाना बनाएको छु। अरुलाई खुवाउँदा सबैभन्दा बढी खुसी लाग्छ।’

उनले बनाउने फिस करी धेरै ग्राहकको रोजाइमा पर्छ। उनको खीर पनि उत्तिकै मन पराइन्छ। आफ्नो कामको तारिफ सुन्दा अझै राम्रो बनाउने, अझै स्वादिलो बनाउने प्रेरणा उनमा जाग्छ। हजुरआमाको आगेनाबाट विश्व बजारसम्मको सपना पूर्णिमाको भान्सासँगको सम्बन्ध ७ वर्षको उमेरमै सुरु भएको थियो। हजुरआमाले आगोमा पकाएको खाना उनलाई असाध्यै स्वादिष्ट लाग्थ्यो। त्यहीँबाट जन्मिएको रुचि आज उनको पेशा बनेको छ।

उनलाई नेपाली परिकार बनाउन मनपर्छ। पञ्जाबी परिकार सिक्ने चाहना पनि उत्तिकै छ। उनको ठूलो सपना केवल स्वादमा सीमित छैन। मिथिला परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन धोको छ उनको। ‘यसलाई व्यवसायिक रूपमा अझै अघि बढाउन चाहन्छु’ उनी भन्छिन्। पूर्णिमा यही अभावलाई अवसरका रूपमा देख्छिन्। ‘अहिलेसम्म नेपाली महिला सेफहरू धेरै चिनिएका छैनन्। म त्यो खडेरी तोड्न चाहन्छु’ उनी भन्छिन्।

उनका अनुसार भान्सा केवल पुरुषको पेसा होइन, महिलाले पनि उत्तिकै क्षमता देखाउन सक्ने क्षेत्र हो। आफू सफल भए अरू धेरै युवतीहरूलाई पनि यो पेशातर्फ आकर्षित गर्न सकिने विश्वास उनको छ। त्यसैले केवल आफ्नो करियर मात्र होइन, नयाँ पुस्ताका महिला सेफहरूका लागि एउटा उदाहरण बन्ने लक्ष्य बोकेकी छिन् पूर्णिमाले। नेपालमा सेफ पेशालाई पहिले त्यति प्रतिष्ठित रूपमा हेरिँदैनथ्यो। तर मास्टर सेफ सन्तोष शाहले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली स्वादलाई चिनाउँदै यो पेशाप्रति गर्व गर्ने वातावरण बनाएका छन्। पूर्णिमाका लागि उनी प्रेरणाका स्रोत मात्र होइन, एउटा रोल मोडेल पनि हुन्।

‘उहाँले देखाउनुभएको बाटोले हामीलाई पनि ठूलो सपना देख्ने हिम्मत दिएको छ’ पूर्णिमा भन्छिन्। उनी पनि त्यही प्रेरणालाई अघि बढाउँदै सेफ पेशालाई अझ प्रतिष्ठित बनाउने र नेपाली भान्सालाई विश्वसामु चिनाउने यात्रामा अघि बढिरहेकी छिन्। उनी बेला–बेला विभिन्न परिकारहरू तयार गरेर आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्छिन्। हाल उनको टिकटकमा २६ हजार बढी फलोअर छन्। विदेशबाट ज्ञान र अनुभव लिएर नेपाल फर्किने र अझ राम्रो सेफ बन्ने उनको योजना छ। पूर्णिमा शाहको कथा केवल एक युवतीको करियर यात्रा होइन। यो एउटा सन्देश हो। कहिलेकाहीँ असफलता नै सही बाटोको सुरुवात हुन्छ। नर्स बन्ने सपना अधुरो रह्यो, तर भान्सामा उनले आफ्नो असली पहिचान भेटिन्। आज उनी केवल खाना पकाउँदै छैनन्, आफ्नो सपना अघि बढाउंदै छिन्। जसको स्वाद भोलि संसारले चाख्नेछ।