
कान्तिपुर हाफ म्याराथनको १४औँ संस्करण वैशाख ५ गते काठमाडौंमा चारवटा विधाहरूमा आयोजना हुनेछ। मुख्य २१.१ किलोमिटर दौडका पुरुष तथा महिला विजेताले जनही १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। केएमजीले प्रविधिको प्रयोग गरी दौड पूरा गर्नेहरूको सही समय मापन गर्ने व्यवस्था गरेको छ।
कान्तिपुर मिडिया ग्रुप (केएमजी)ले आयोजन गर्ने कान्तिपुर हाफ म्याराथनमा चारवटा विधामा प्रतिस्पर्धा हुनेछ। कान्तिपुर हाफ म्याराथनको मुख्य दूरी २१.१ किलोमिटर हुनेछ। अन्य तीनवटा विधा कर्पोरेट एन्ड इन्फ्लुएन्सर रन ५ किलोमिटर, एक्स्ट्रिम कलेज रन ७ किलोमिटर, र ह्वीलचेयर रेस ३ किलोमिटर रहनेछन्। यस वर्षको नारा “रन फर नेपाल” राखिएको छ।
नियमित विधामा कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रोदेखि छैटौँ स्थानसम्मको विजेताले क्रमशः ७५, ५०, ३०, २० र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। ह्वीलचेयर रेसको विजेताले ३५ हजार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेहरूले क्रमशः २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस वर्षदेखि दौड पूरा गर्ने हरेक सहभागीले मेडल पाउने व्यवस्था गरिएको छ।
कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडि बाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी हुँदै जगाते चोकबाट फन्को लगाएर कोटेश्वर हुँदै तीनकुनेमा पुगेर दौड समाप्त हुनेछ। खेलाडी दर्ता चैत ३१ गतेसम्म खुला रहेको छ र दर्ता कान्तिपुर इभेन्ट्समार्फत गर्न सकिन्छ। महिलातर्फ कान्छीमाया कोजुले पाँच पटक कान्तिपुर हाफ म्याराथनको उपाधि जितिसकेकी छन् भने पुरुषतर्फ हरिकुमार रिमालले चार पटक उपाधि जितेका छन्।






