
२३ चैत, काठमाडौं। चैत महिनाभरि हालसम्म २३ ठाउँमा बर्डफ्लु रोग देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार, यस वर्ष चैतअघि बर्डफ्लु पुष्टि भएको थिएन, तर चैत महिनामा मात्रै २३ स्थानमा बर्डफ्लु देखिएको छ। वर्षको पहिलो बर्डफ्लु चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकैपटक दुई स्थानमा देखिएको थियो। सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई, चितवनमा एक र काठमाडौंमा एउटा स्थानमा बर्डफ्लु देखिएको डा. दाहालले जानकारी दिए।
उनी भन्छन् कि प्रत्येक ठाउँलाई नियन्त्रणमा लिएर बर्डफ्लुको फैलावट रोकिएको छ। दाहालका अनुसार ती स्थानहरूमा जम्मा एक लाख चार हजार कुखुरा र हाँस नष्ट गरिसकिएको छ। काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरका कागहरूमा पनि बर्डफ्लु पुष्टि भएको थियो। सुनसरी, झापा र मोरङ जिल्लामा बर्डफ्लुको सङ्क्रमण फैलिँदा, ती जिल्लामा पशुपन्छी ओसारपसारमा रोक लगाइएको छ। ‘हामीले बर्डफ्लु देखिने क्षेत्रलाई घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले प्रभावित पशुपन्छीलाई नष्ट गर्ने कार्य गरिरहेको छ’, डा. दाहालले भने, ‘यसले गर्दा जिल्लामा बर्डफ्लुको सङ्क्रमण थप फैलिएको छैन।’ सरकारले बर्डफ्लु देखिएपछि प्रभावित हाँस कुखुरा नष्ट गर्ने र ती किसानलाई ७५ प्रतिशत क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था गर्दै आएको छ।






