
आजभोलि प्रायः सबै परिवारमा स्मार्टफोनको प्रयोग सामान्यमात्र होइन, अत्यावश्यक बनिसकेको छ। यसैले, अभिभावकहरूले आफ्ना छोराछोरीलाई हुर्काउँदै गर्दा स्मार्टफोन, ल्यापटपजस्ता स्क्रिन उपकरणहरूलाई माध्यमको रूपमा प्रयोग गर्नेक्रम तीव्र रूपमा बढेको छ। खाना खुवाउँदा, बच्चा रोएको बेला मनतोड्न, वा कहीँ जाँदा स्क्रिन हेर्न दिनुपर्ने प्रवृत्ति सामन्य भइसकेको छ। नेपालमा बालबालिकालाई कति स्क्रिन टाइम दिनु पर्ने भन्ने स्पष्ट मापदण्ड छैन। अन्य देशमा यस विषयमा कानुनी नियम बनिसकेको भए तापनि, हाम्रो देशमा यो सम्पूर्ण रूपमा अभिभावकको व्यक्तिगत निर्णयमा छोडिएको छ। यो समस्या विश्वभरिका अभिभावकहरूमा देखिन्छ र यसको प्रभाव बालबालिकाको वृद्धिविकासमा प्रत्यक्ष पर्न सक्ने विज्ञहरूको भनाइ छ।
केही देशहरूले बालबालिकालाई दिइने स्क्रिन टाइम नियन्त्रण गर्न कानुनी नियमहरू लागू गरेका छन्। बेलायत सरकारले हालै जारी गरेको निर्देशिका अनुसार, ५ वर्ष मुनिका बालबालिकाको लागि स्क्रिन टाइम एक घण्टामा सीमित गर्न आवश्यक रहेको छ। दुई वर्ष मुनिका बालबालिलाई एक्लै स्क्रिन हेर्न दिनु उपयुक्त मानिँदैन। उक्त निर्देशिकाले अभिभावकहरूलाई सकेसम्म बालबालिका सँगै बसेर स्क्रिन प्रयोग गराउन सल्लाह दिएको छ। स्क्रिनको विकल्पका रूपमा कथा पढ्ने वा खाना खाने समयमा सामान्य खेल खेल्ने सुझाब पनि दिइएको छ।
हाल इन्स्टिच्युट फर द साइन्स अफ अर्ली इयर्सका वैज्ञानिकहरूले ५ वर्ष मुनिका बालबालिकाले हेर्ने विभिन्न सामग्रीहरूको अध्ययन गरिरहेका छन्। यस अध्ययनमा संलग्न प्रोफेसर साम वासका अनुसार ती सामग्रीहरू अत्यधिक तीव्र गतिमा हुँदा, बालबालिकाको मस्तिष्कले त्यसलाई सम्हाल्न सक्दैन र ‘फाइट आर फ्लाइट’ भन्ने तनाव प्रणाली सक्रिय हुन्छ। यसले मुटुको धड्कन बढाउने र मांसपेशीमा ऊर्जा उत्सर्जन गराउने गर्छ, जुन एकै ठाउँमा बसेर स्क्रिन हेर्ने बालबालिकाका लागि उपयुक्त छैन। अहिलेका कन्टेन्टहरू अझ तीव्र गतिका भएकाले यसले बालबालिकामा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने हुनसक्छ। यद्यपि, यस्तो निर्देशिका वा बानीहरू अक्षरशः पालना गर्न धेरै अभिभावकलाई कठिनाइ हुने अनुभव छ।






