
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले देशमा न्यून मुद्रास्फीति र उच्च वृद्धिको विद्यमान अवस्थालाई “अभूतपूर्व समय” भनेको धेरै भएको छैन। तर मध्यपूर्वमा जारी युद्ध र त्यसले तेल बजारमा ल्याएको व्यवधानले भारतको विशिष्ट वृद्धिको कथालाई अनपेक्षित धक्का दिएपछि उक्त अवस्था क्षणभङ्गुर हुन पुगेको छ।
सबभन्दा टड्कारो प्रभाव भारतीय मुद्रामा परेको छ। भारतीय रुपैयाँमा अहिलेसम्मकै सर्वाधिक अवमूल्यन भएको छ। गत वर्षको तुलनामा अमेरिकी डलरसँग भारुको १०%ले अवमूल्यन भइसक्यो। केन्द्रीय ब्याङ्कले हस्तक्षेप गरेर स्थितिमा केही राहत मिले पनि त्यो सम्भवत: अस्थायी हुने देखिन्छ। युद्ध कति लम्बिएला भन्नेमा यो अवस्था भर पर्ने हुँदा आगामी दिनमा थप गिरावट हुन सक्ने विज्ञहरूको अनुमान छ।
एकदमै खराब अवस्था भयो भने, मानौँ सन् २०२६ भरि युद्ध चल्यो भने त्यसको परिणाम भारुका निम्ति ‘विनाशकारी’ हुन सक्ने र प्रति डलरको मूल्य ११० भारु (नेरु १७६) भन्दा धेरै पुग्न सक्ने शोधसंस्था बर्न्स्टीनको अनुमान छ। युद्ध चाँडै सकिए पनि पीडा पछिसम्म बाँकी रहने छ। मुद्रा निरन्तर कमजोर हुँदा त्यसले सबथोकमा नकारात्मक प्रभाव पार्छ। उपभोक्तालाई महँगी बढ्छ, कर्पोरेट क्षेत्रको नाफा कम हुन्छ, सरकारी घाटा बढ्छ अनि स्टक बजारमा थोरै पुँजी भित्रिन्छ।
विदेशी मुद्रा पलायनका कारण यो वर्षको सुरुको तुलनामा अहिले नै भारतका मुख्य सूचकाङ्कहरू १२% ले घटिसकेका छन्। यसले मानिसहरूको सम्पत्तिमा क्षय भएकाले सम्पत्तिको मूल्य बढ्दा खर्च गर्ने प्रवृत्ति पनि सेलाएको छ। सोही प्रवृत्तिका कारण धनीहरूले उपभोगको इन्जिन चलायमान बनाइरहेका थिए। विश्वव्यापी तनावले देशको मुद्रास्फीति र वृद्धिको प्रक्षेपणलाई पनि नकारात्मक ढङ्गले असर पार्न थालेको छ।





