Skip to main content

नेपाल क्रिकेट: एनपीएल २ बाट आम्दानी र क्यानको लगानी योजना

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आर्थिक आधार बलियो बनाउन सुरु गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनबाट नौ करोड २१ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिएको छ। यो पहिलो सिजनको आम्दानीभन्दा लगभग सात करोड रुपैयाँ बढी हो। आर्थिक समृद्धि बिना क्रिकेटको विकास सम्भव नहुने भएकाले क्यानले विश्वव्यापी रूपमा आम्दानीको मुख्य स्रोत बनेको फ्रेन्चाइज क्रिकेट एनपीएललाई प्रभावकारीसँग सुरु गरेको र सफलता पाएको देखिन्छ।

क्यानले प्रतियोगिता सुरु गर्नु अघि आम्दानीको कुनै अंश जिल्ला र प्रदेश क्रिकेटलाई सशक्त बनाउन र विभिन्न क्रिकेट विकास कार्यक्रममा खर्च गर्ने बताएका थिए। आईसीसीबाट प्राप्त सहयोग बाहेक क्यानको मुख्य आन्तरिक आर्थिक स्रोत एनपीएल, अन्तर्राष्ट्रिय क्रिकेट आयोजक बेलामा उठ्ने टिकट रकम र प्रायोजनहरू हुन्। यसै क्रममा अगाडि बढ्दै क्यानले आगामी संस्करणहरूमा थप आम्दानी गर्ने सम्भावना रहेको छ।

पहिलो संस्करणको एनपीएल आम्दानीबाट क्यानले प्रदेश क्रिकेटलाई ७० लाख रुपैयाँ वितरण गरेको थियो। दोस्रो संस्करणबाट क्यानले ९,२१,२१,३५ रुपैयाँ आम्दानी भएको सार्वजनिक पनि गरिसकेको छ। क्यानका प्रवक्त छुम्बी लामाले भने, “आम्दानी भनेको क्रिकेट विकासमा खर्च हुने उद्देश्यका लागि हो। गत वर्ष प्रदेश क्रिकेटलाई सानो रकम मात्र बाँडियो। यसपालि के गर्ने भन्ने निर्णय भइसकेको छैन। तर क्रिकेट विकासको मुख्य आधार हुने जिल्ला संघहरूलाई पनि आम्दानी बाँड्ने योजना छ,” उनले बताए।

एनपीएलको आम्दानी क्यानले जारी गरेको विज्ञप्तिअनुसार, एनपीएल दोस्रो सिजनमा जम्मा ४७ करोड ३६ लाख ५५९ रुपैयाँ सङ्कलन भएको थियो। पहिलो सिजनमा क्यानले कुल २७ करोड ६९ लाख रुपैयाँ आम्दानी हुँदा जानकारी दिएको थियो। दोस्रो संस्करणमा २१ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ। पहिलो संस्करणमा २० करोड १५ लाख रुपैयाँ खर्च गरिएको थियो। फ्रेन्चाइज टोलीहरूले यस पटक केही राहत महसुस गरेका छन्। विगत वर्ष भाग लिएका आठ टोलीले ५४ लाख बराबरको नाफा पाएको हुँदा यसपटक दुई करोड रुपैयाँभन्दा बढी रकम पाएका छन्।

नेपाल प्रिमियर लिग दोस्रो संस्करणको आयव्ययकुल सङ्कलन: ४७ करोड ३६ लाख ५५९ रुपैयाँ कुल खर्च: २१ करोड ९६ लाख ५,१२३ रुपैँया फ्रेन्चाइज टीमलाई बाँड्नुअघि रकम: २५ करोड ३९ लाख ९५,४३५ रुपैयाँ ८ टोलीलाई नाफाको ५० प्रतिशत वितरण: १६ करोड १८ लाख ७३,५०० रुपैयाँ जम्मा बचत: ९ करोड २१ लाख २१,९३५ रुपैयाँ। बैठकको मुख्य चासो एनपीएलको आम्दानीमा केन्द्रित रहेको थियो। केही दिनअघि शनिबार बोलाइएको बोर्ड बैठकमा आवश्यक कागजात उपलब्ध नभएको भन्दै अधिकांश सदस्य गैरहाजिर हुँदा बैठक स्थगित गरिएको थियो। तर त्यसपछि सोमवार बोलाइएको बैठकमा नौ जना सदस्यको कोरम पुगेपछि बैठक सम्पन्न भएको हो। क्यानमा १७ सदस्यीय कार्यसमिति छ, तर बैठकमा आठ सदस्य अनुपस्थित थिए।

महिला क्रिकेटलाई वार्षिक ७.६ करोड रुपैयाँ एनपीएलको आम्दानीले महिला क्रिकेटलाई पनि खुशीको खबर दियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली महिला क्रिकेटको विकासका लागि वार्षिक पाँच लाख अमेरिकी डलर, अर्थात् करिब सात करोड ६० लाख रुपैयाँ बराबरको बजेट दिने निर्णय गरेको छ। आईसीसीबाट क्यानलाई प्राप्त बजेटबाट उक्त रकम महिला क्रिकेट विकास कार्यक्रममा खर्च हुनेछ। लामो समय बजेट अभावमा आफ्ना गतिविधिहरूमा पिछडिएको नेपाली महिला क्रिकेटको लागि यो अहिलेसम्मको सबैभन्दा ठूलो लगानी हुनेछ। यसले महिला क्रिकेटको विकासमा महत्वपूर्ण प्रगति हुने अपेक्षा गरिएको छ.