
नासाको आर्टेमिस-२ चन्द्रमाको मिशनका अन्तरिक्ष यात्रीहरूले पूर्ण सूर्यग्रहणको दृश्य अवलोकन गरी शनिबार पृथ्वीमा अवतरण गर्ने तयारी गरिरहेका छन्। यस मिशनका अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको अत्यन्त नजिकबाट अन्तरिक्षयानमै बसेर पूर्ण सूर्यग्रहणको दृश्य अवलोकन गरेपछि अब पृथ्वी फर्कने क्रममा छन्। शनिबार बिहान अवतरण गर्न लागेका अन्तरिक्ष यात्रीहरूको कमाण्डर रेड वाइजम्यानका अनुसार, ओरियन अन्तरिक्षयानका चालक दलले यस्तो दृश्य देखेका छन् जुन अहिलेसम्म कुनै मानिसले देखेका थिएनन्। आर्टेमिस मिसनका पाइलट भिक्टर ग्लोभरले भनेका छन् कि उनले देखेका दृश्यको वर्णन गर्न शब्द नै नपुग्ने छन्।
यस यात्राको क्रममा अन्तरिक्षयानले पृथ्वीबाट करिब २ लाख ५२ हजार ७५६ माइल अर्थात् ४ लाख ६ हजार ७७१ किलोमिटर दूरी तय गरेको थियो, जुन अहिलेसम्म कुनै मानिसले अन्तरिक्षमा तय गरेको सबैभन्दा लामो दूरी हो। चन्द्रमाको पछाडि पट्टिको भागमा पुगेपछि अन्तरिक्ष यात्री र नासाबीच करिब ४० मिनेटसम्म सम्पर्क विच्छेद भएको थियो। सम्पर्क पुनः स्थापित भएपछि मिशन विशेषज्ञ क्रिस्टिना कोचले अन्तरिक्षयानबाट प्रतिक्रिया दिइन् – पृथ्वीबाट फेरि आवाज सुन्दै अत्यन्त अद्भुत महसुस भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अन्तरिक्ष यात्रीहरूसँग प्रत्यक्ष संवाद गरेका थिए र उनीहरूले इतिहास रच्नुभएकोमा गर्व व्यक्त गर्नुभयो।
अन्तरिक्ष यात्रीहरू अमेरिकाको पश्चिमी तट नजिक प्रशान्त महासागरमा अवतरण गर्ने अपेक्षा गरिएको छ। नासाका एक अवकाशप्राप्त अन्तरिक्ष यात्री तथा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका पूर्व कमाण्डर टेरी भिर्ट्सले चिन्ताजनक तर यथार्थपरक धारणा व्यक्त गरेका छन्। उनका अनुसार, यस मिशनमा अन्तरिक्षयानका चालक दलले चन्द्रमाको गुरुत्वाकर्षण शक्तिको प्रयोग गरेर त्यसको परिक्रमा गर्नुपरेको थियो। उनले भनेका छन् कि आर्टेमिस मिशनका अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा अत्यन्त टाढा छन् र कुनै पनि आकस्मिक अवस्थाले चुनौती पुर्याएमा बचाउने विकल्प छैन।
नासाकी विज्ञान प्रमुख डाक्टर निकोला फक्सका अनुसार, अन्तरिक्ष यात्रीहरूले मिशनको यो महत्वपूर्ण चरणका लागि धेरै वर्षसम्म तयारी गरेका थिए र नासाको टोलीसँग मिलेर चन्द्र विज्ञानको गहिरो अध्ययन गरेका थिए। आर्टेमिस-२ मिशनका मुख्य सदस्यहरूमा तीन अमेरिकी अन्तरिक्ष यात्रीहरू रेड वाइजम्यान, क्रिस्टिना कोच र भिक्टर ग्लोभर साथै एक क्यानाडाली अन्तरिक्ष यात्री जेरेमी ह्यान्सेन पनि सहभागी छन्। चन्द्रमा पानीको खोजी र त्यहाँका खनिजहरूको अध्ययनले भविष्यमा मानव बसोबासका लागि महत्वपूर्ण योगदान पुर्याउन सक्छ।






