
३० चैत, मस्को (रुस) । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न उक्त कार्यक्रममा कलाकारहरू रामजी खाँड, भूमिका गिरीलगायतले गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० नेपाली सहभागी थिए । सहभागीहरूले ती कलाकारहरूको सांगीतिक प्रस्तुतीसँग रमाइलो गरे ।
कार्यक्रमका प्रमुख अतिथि, रुसका लागि नेपालका कार्यवाहक राजदूत महेश्वरमणि त्रिपाठीले कोभिड–१९ महामारीपछि नेपालबाट कलाकारहरू ल्याएर गरिएको यस कार्यक्रम पहिलो भएको उल्लेख गर्दै यस्तो कार्यक्रमहरूले परदेशमा पनि नेपाली कला र संस्कृतिलाई जोगाउन सहयोग पुगेको बताए । उनले भने, ‘नेपालीहरू नेपालबाहिर गएपछि पनि आफ्नो हृदयबाट नेपालीपन कहिल्यै भुल्दैनन्, यो कार्यक्रम त्यसकै प्रतिबिम्ब हो । नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो कार्यक्रममा आगामी दिनमा निरन्तरता पाइनेमा म आशावादी छु ।’
त्यस अवसरमा एनआरएनए रुसका अध्यक्ष सिताराम कट्टेल (मिलन)ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरिने र यसका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताए । लामो समयपछि ठूलो मेहनतका साथ सांस्कृतिक कार्यक्रम आयोजनामा सफल भएको उनले बताए । एनआरएनएको उपाध्यक्ष तथा कार्यक्रम संयोजक संज्ञान कार्कीले विदेशमा नेपाली कला र संस्कृतिलाई जोगाउन र प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताए । उनले आगामी दिनमा नेपाली भाषा, कला र संस्कृतिको प्रोत्साहनका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । तसर्थ, नेपालबाट आएका कलाकार तथा रुसमा रहेका नेपालीहरूले नेपाली संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गरे ।






