
तेह्रथुमका गाउँहरूमा झिँगटीको छाना परम्परागत रूपमा घरको छानामा प्रयोग हुँदै आएको थियो, तर अहिले तीव्र रूपमा लोप हुँदै गएको छ। झिँगटीको छानाले घरभित्र तापक्रम सन्तुलित राख्ने काम गर्छ, जबकि टिनका छानाले गर्मीमा अत्यधिक ताप र जाडोमा चिसो बढाउने समस्या हुन्छ। स्थानीय तह र समुदायले झिँगटी बनाउने सीप संरक्षण, तालिम र पर्यटन प्रवर्द्धनमार्फत यसको संरक्षण गर्नुपर्ने बताइएको छ।
३० चैत, पाँचथर – तेह्रथुमको म्याङलुङदेखि छथर, फेदाप, आठराई र लालीगुराँसलगायत विभिन्न गाउँका बस्तीहरूमा एक समय घरको छानामाथि झिँगटीको छाना सजावट गर्दै प्रयोग गरिन्थ्यो, जुन अहिले बिस्तारै इतिहास बन्ने अवस्थामा पुगेको छ। ग्रामीण समाजको जीवनशैली, पहिचान र सांस्कृतिक विरासतसँग गहिरो सम्बन्ध राख्ने यो परम्परागत छाना पछिल्लो समय तीव्र रूपमा लोप हुँदै गएको छ।
तेह्रथुमका धेरै गाउँहरूमा ढुङ्गा र माटोले बनेका घर र तिनको छानामा मिलाएका झिँगटीका छानाले आफ्नो अलग सौन्दर्य प्रस्तुत गरिरहेका थिए। विशेष गरी, हुनेखाने, ठुलाबडा, सुब्बा र मुखियाहरूका घरमा झिँगटीको छाना हुनु सम्मान र सम्पन्नताको प्रतीक मानिन्थ्यो। तर अहिले तेह्रथुमका धेरै गाउँमा दृश्य फरक देखिन्छ। कच्ची बाटोहरू पक्की सडक बन्दै गर्दा, गाउँसम्म आधुनिकता पुगेको, बजारसँगको पहुँच बढ्दा तथा नयाँ निर्माण सामग्रीहरू सजिलै उपलब्ध हुँदा टिनका छाना र कङ्क्रिटका घर तीव्र रूपमा बढिरहेका छन्।
म्याङलुङ नगरपालिका–२ का स्थानीय लीलाबहादुर तुम्बाहाङफे भन्छन्, ‘पहिले गाउँमा झिँगटीको छाना भएको घर धेरै सम्मानित हुन्थ्यो। अहिले त गाउँमा पनि टिन र सिमेन्टका घर बढी बनेका छन्, जसले गर्दा झिँगटी छाउने चलन कम हुँदै गएको छ।’ उनका अनुसार, झिँगटी बनाउने र छोप्ने दक्ष कारागारहरू अहिले गाउँमा लगभग भेटिन्नन्। झिँगटी छानाको मुख्य विशेषता यसको प्राकृतिक तापक्रम सन्तुलन हो।
अत्यधिक गर्मी र जाडो मौसममा झिँगटीको छानाले घर भित्रको तापक्रम सन्तुलित राख्न मद्दत गर्छ। गर्मीमा चिसोपन र जाडोमा न्यानोपन दिने यो छानामा बस्दा वातावरणसँग मेल खाने अनुभूति हुन्छ। स्थानीय खगेन्द्रप्रसाद ढकाल भन्छन्, ‘समाज परिवर्तन हुँदै जाँदा पुराना संरचना र चलनहरू पनि हराउँदै गएका छन्। झिँगटीको छाना पनि त्यस्तै परिवर्तनसँगै हराउँदै गएको हो।’
तेह्रथुमका गाउँहरूमा झिँगटी बनाउने सीप पनि हराउँदै गएको छ। पहिले गाउँमै माटोबाट झिँगटी बनाउने र छोप्ने दक्ष कारागारहरू हुन्थे, तर अहिले त्यो ज्ञान नयाँ पुस्तासम्म स्थानान्तरण हुन नसकेको छ। वैदेशिक रोजगारी, शिक्षाका अवसर खोजी र वैकल्पिक पेशातर्फ युवाहरू आकर्षित हुँदा यस्ता परम्परागत सीपहरू ओझेलमा पर्ने गरेका छन्। यसरी हेर्दा, झिँगटी छानासँगै ग्रामीण जीवनशैली, सामाजिक संरचना र सांस्कृतिक पहिचानका केही पक्षहरू पनि लोपोन्मुख भएका छन्।
झिँगटीको छाना हाम्रो विगतको जिवित दस्तावेज हो। यसले ग्रामीण समाजको इतिहास, प्रविधि, वातावरणीय ज्ञान र सांस्कृतिक मूल्यलाई समेटेको छ। यसको संरक्षण नगर्ने हो भने भोलिका पुस्ताहरू केवल किताबमा मात्रै यसलाई पढ्नेछन्, गाउँमा देख्न पाउने छैनन्। त्यसैले स्थानीय तह, सरोकारवाला निकाय र समुदायले मिलेर यसको संरक्षणमा लाग्नु आवश्यक छ।






