
झापाको बिर्तामोड नगरपालिका–४ मा आज बिहान दुईवटा उद्योगहरूमा आगलागी भएको छ। आगलागीबाट झापाली चिप्स फ्याक्ट्री र सौगात काष्ठ फर्निचरमा करिब एक करोड रुपैयाँ बराबरको ठूलो क्षति भएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोड र सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको टोलीले आगो नियन्त्रणमा ल्याएको छ र अनुसन्धान जारी छ। १ वैशाख, झापा।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, बिहान करिब ४:१५ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालित ‘झापाली चिप्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’मा एउटै समयमा आगो लागेको थियो। आगोले दुवै उद्योगमा रहेको कच्चा सामग्री, तयारी सामान र मेसिनरी पुर्जाहरू जलेर नष्ट हुँदा करिब एक करोड रुपैयाँ बराबरको ठूलो आर्थिक क्षति पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरे, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिका दमकल व्यवस्थापन तथा स्थानीय निवासीहरूको सहयोगमा केही समयअघि उक्त आगोलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले आगलागीको ठ्याक्कै कारण पत्ता लाग्न नसकेको जनाएको छ भने थप अनुसन्धान भइरहेको बताएको छ।






