Skip to main content

नेपाली कांग्रेस विवाद: पूर्णबहादुर खड्काले स्पष्टीकरण नदिने संकेत, ‘कार्यवाहक सभापति म नै हुँ’

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा फैसला नगरेसम्म कार्यवाहक सभापति आफू नै रहेको दाबी बीबीसीसँग गरेका छन्। कांग्रेसको केन्द्रीय अनुशासन समितिले सात दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय सार्वजनिक भएपछि त्यसबारे प्रतिक्रिया दिँदै उनले त्यसलाई “निरर्थक” को सङ्ज्ञा दिए। “मैले सञ्चारमाध्यमबाट थाहा पाएँ। मलाई स्पष्टीकरण सोध्ने कुरा हास्यास्पद छ, निरर्थक छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

खड्काले पार्टीको “नक्कली लेटर प्याड प्रयोग गरेको” अनुशासन समितिको टिप्पणीबारे प्रतिक्रिया दिँदै त्यो “आधिकारिक” भएको दाबी गरे। “मैले [लेटर प्याड] नक्कली हो भनी सुनेँ, त्यो नक्कली होइन। आधिकारिक लेटर प्याड हो। कार्यवाहक सभापतिको हैसियतमा मबाट दायर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। सर्वोच्च अदालतले त्यो मुद्दाको फैसला नगरेसम्म कार्यवाहक सभापतिको मेरो हैसियत कसैले पनि खोस्न सक्दैन,” खड्काले तर्क गरे।

अनुशासन समितिलाई सात दिनभित्र स्पष्टीकरण नदिए पार्टीले निष्काशन गर्‍यो भने के गर्नुहुन्छ भनी अर्को जिज्ञासामा उनले भने, “योभन्दा बढी अहिले मैले केही पनि भन्नु छैन। अर्को सन्दर्भमा फेरि बोलौँला।” चुनाव नलड्नुका कारण कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बैठक बसेर गरेको निर्णयका सन्दर्भमा निर्वाचन आयोगले दिएको फैसला नेपालको “संवैधानिक व्यवस्थाविपरीत” रहेको उनले दाबी गरे।

खड्काले भने, “त्यो प्रचलित कानुनविपरीत छ, राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाविपरीत छ र नेपाली कांग्रेसको विधानविपरीत छ।” उनले सर्वोच्च अदालतमा पार्टी आधिकारिताबारे हाल विचाराधीन रहेको मुद्दामा अदालतले आफूहरूलाई न्याय दिने र सकभर चाँडै फैसला हुनेमा विश्वास रहेको बताए। “नेपालको सबैभन्दा पुरानो, लोकतान्त्रिक पार्टीको विषय भएको हुनाले त्यसमा महत्त्वका साथ निर्णय हुनेमा हाम्रो विश्वास छ,” उनले अगाडि थपे।