Skip to main content

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग पहिलोपटक छलफल सुरु गर्ने

३ वैशाख, काठमाडौं। प्रधानमन्त्री वलिन्द्र शाह (बालेन)ले पदभार ग्रहण गरेपछि आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग पहिलोपटक छलफल गर्दै छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे यो बैठक आयोजना हुनेछ। बैठकमा विकास निर्माणका कामलाई तीव्रगतिमा अघि बढाउने, स्रोत–साधनको उचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक चुनौतीहरूको समाधान गर्ने विषयहरूमा केन्द्रित हुने ताल छ।

त्यसैगरी, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउन सकिन्छ भन्ने विषय पनि बैठकको एजेन्डामा रहनेछ। देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार र सुशासन कायम गर्ने विषयमा साझा समझदारी बनाउने प्रयास पनि बैठकमा गरिने अपेक्षा गरिएको छ। यस बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन र जनतामा प्रत्यक्ष लाभ पुर्‍याउने दिशामा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।