पोखरामा सौतेनी छोराको योजना अनुसार सिर्जना पौडेल केसीको हत्या, ५ जनालाई नियन्त्रणमा लिइयो

पोखराको मुख्य बजारमा २५ चैत साँझ सिर्जना पौडेल केसीको हत्या सौतेनी छोरा गौरवको योजनामा भएको प्रहरीले निष्कर्ष निकालेको छ। हत्या योजनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ भने गौरवलाई कारागारबाट ल्याएर थप अनुसन्धान भइरहेको छ। सिर्जनाको हत्या पारिवारिक कलह, सम्पत्ति विवाद र अंश मुद्दाका कारण भएको प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताउनुभयो।
२५ चैत साँझ सभागृह चोक नजिकै ४२ वर्षीया एकल महिला सिर्जना पौडेल केसीमाथि खुकुरी प्रहार गरी हत्या गरिएको थियो। स्कुटरमा आएका दुई जनाले उनको घाँटीमा खुकुरी प्रहार गरी फरार भएका थिए। प्रहरीले खुकुरी प्रहार गर्ने र स्कुटर चलाउने दुवै जनालाई नियन्त्रणमा लिएर २७ चैतमा सार्वजनिक गरेको थियो। खुकुरी प्रहार गर्ने सिर्जनाको भान्जा २७ वर्षीय सन्तोष भनिने शिशिर केसी र सहयोगी स्कुटर चालक ३२ वर्षीय कुशल परियारलाई प्रहरीले सुरुमा नै पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा सिर्जनाका भान्जा पर्वत कुश्मा नगरपालिका–११ घर भएका र हाल पोखरा महानगरपालिका–५ जिरो किलो बस्ने २४ वर्षीय वसन्त केसी र छोरीको ज्वाइँ पर्वत फलेवास नगरपालिका–९ भंगारा घर भएका र हाल पोखरा–१६ लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्री छन्। वसन्त शिशिरका आफ्नै भाइ हुन्। माइजु सिर्जनाको हत्यामा भान्जाका दाजुभाइ र ज्वाइँसहित ४ जना पक्राउ परे पनि प्रहरीले अनुसन्धान अझै व्यापक बनाउन खोजिरहेको छ। यसैबिच पारिवारिक घटनाक्रममा शंकास्पद पक्षहरू रहेका छन् भने परिवारभित्र अंश मुद्दा, बक्स र सम्पत्ति विवाद रहेको छ।






