मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्यो

३ वैशाख, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले सात महिनाको अवधिमा उक्त राजस्व सङ्कलन गरेको हो।
उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनामा १२ अर्ब २२ करोड ७६ लाख रुपैयाँ बराबरको मालवस्तु चीनतर्फबाट आयात भएको छ, मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए। यसैगरी नेपालबाट २० करोड ५५ लाख रुपैयाँ बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको उनले बताए।
गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात/निर्यातमा उभार आए पनि पछिल्ला समय भन्सारबाट आयात/निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गरे। यहाँको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनामा कोरला नाकाबाट चीनबाट आयात गरिएका कुल २ हजार ३४७ वटा विद्युतीय इलेक्ट्रोनिक (इभी) सवारीसाधनको भन्सार जाँचपास भएको छ। यसैगरी, चीनबाट नेपाल भित्रिएका १८१८ वटा मालवस्तु ढुवानी भएका कन्टेनरहरूको भन्सार जाँचपास भएको छ। नेपालबाट स्वदेशी उत्पादन तथा हस्तकलाका सामग्री लोड गरिएका १३७ वटा मालवाहक कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएका छन्, कार्यालय प्रमुख खड्काले जानकारी दिए।
कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँको मुस्ताङ कार्यालयमा आयात-निर्यातको कारोबार व्यापक भएको छ। कोरला नाकाबाट नेपालका व्यापारिक कम्पनीहरूले चीनबाट विद्युतीय सवारीसाधन साथै लत्ताकपडा, कस्मेटिक सामग्री र इलेक्ट्रोनिक उपकरण आयात गर्दै आएका छन्।






