‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ को फाइनल वैशाख ५ गते, प्रथम पुरस्कार ५ लाख रुपैयाँ

४ वैशाख, धनकुटा। पूर्वी पहाडमा सांस्कृतिक तथा कलात्मक गतिविधिहरू तीव्र गतिमा फैलिएको छ। यस विकासलाई थप प्रवर्द्धन गर्न धनकुटामा यस वर्ष पनि प्रतिभा खोज कार्यक्रम अन्तर्गत ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ आयोजना गरिने भएको छ। टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको फाइनल प्रतिस्पर्धा यही वैशाख ५ गते धनकुटा जिल्लाको तल्लो टुडिखेलमा आयोजना गरिने जानकारी दिएको छ। स्थानीय कला, संस्कृति र युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले सुरु गरिएको यो प्रतियोगिता यसपटक अझ व्यवस्थित र व्यापक रूपमा सञ्चालन गरिने आयोजकले बताएका छन्।
विशेष गरी ग्रामीण क्षेत्रमा रहेका प्रतिभाहरूलाई पहिचान गरी राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य कार्यक्रमले राखेको छ। आयोजकका अनुसार, प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई प्रतिभा विकास, नयाँ अवसर सिर्जना र सांस्कृतिक संरक्षणसँग जोडिएको अभियानको रूपमा अगाडि बढाइँदैछ। नृत्य, गायन लगायत विभिन्न विधामा सहभागीहरूले आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउने कार्यक्रम संयोजक सुमन योगीले बताए।
प्रतियोगिताको निर्णायक मण्डलमा नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बु र दिपेश मगर रहनेछन् भने गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती र महेश राइले मूल्यांकन गर्नेछन्। यस वर्षको प्रतियोगितामा विशेष आकर्षणको रूपमा कलाकार डिजी राज पौडेल र ‘द भ्वाइस अफ नेपाल सिजन–६’ का प्रतिस्पर्धी विराट तामाङको प्रस्तुति रहनेछ। प्रतियोगिताको पुरस्कार राशिले यसलाई अझ आकर्षक बनाएको आयोजकको भनाइ छ। गायनतर्फ पहिलो स्थान हासिल गर्नेले ५ लाख रुपैयाँ नगदसहित सोही बराबरको जीवन बीमा प्रिमियम, म्युजिक रेकर्डिङको अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा १२ वर्षभन्दा मुनिका र माथिका समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको पहिलो स्थानले २ लाख ५० हजार र दोस्रो स्थानले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यसपटकको प्रतियोगिता गत असार २० गतेदेखि सुरु भएको थियो, जसमा कोशी प्रदेशका १४ जिल्लाबाट ६ सय जना सहभागी भएका थिए। प्रारम्भिक चरणमा ४३० जनाले भाग लिएका थिए। मेघा अडिसनपछि ३१ जना प्रतिभा अन्तिम चरणमा चयन भएका छन्, जसमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी रहेका छन्।






