

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग शुक्रबार बिहान सिंहदरबारमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा भ्रमणको तयारी, एजेन्डा र नेपाल–चीन सम्बन्धबारे कुराकानी भएको रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाहले भ्रमणका क्रममा व्यापार, प्रविधि, पर्यटन र कृषिमा चीनसँग सहकार्य विस्तार गर्ने अवसरलाई प्राथमिकता दिन सांसदहरूलाई आग्रह गरे। उनले चीनले प्रविधि र आर्थिक विकासमा हासिल गरेको अनुभवबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा छलफल गर्न पनि निर्देशन दिए।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा जाने टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायत स्थानको भ्रमण गर्नेछ। भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सरकारी सेवा प्रवाह र संस्थागत क्षमता अभिवृद्धिबारे अनुभव आदानप्रदान गर्ने तथा नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल गर्ने कार्यक्रम छ।

सम्बन्धित खबर











