
वरिष्ठ मेकअप कलाकार अशोक रोकाको बिहीबार साँझ घट्टेकुलोस्थित आफ्नै घरमा निधन भएको छ। चलचित्र प्राविधिक संघ र चलचित्र विकास बोर्डले रोकाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। उनका पार्थिव शरीर शुक्रबार दिउँसो १२ बजे देखि १ बजेर ३० मिनेटसम्म पशुपतिनाथ आर्यघाटमा राखिने छ।
अशोक रोकाको निधनले सम्पूर्ण नेपाली चलचित्र परिवारलाई स्तब्ध, मर्माहत र शोकाकुल बनाएको बताइएको छ। उनले २०४० सालदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय भई चार दशकभन्दा बढी समय योगदान दिएका थिए। उहाँले कलाकारलाई चरित्रअनुसारको जीवित पोशाक, भावना र रुप प्रदान गर्दै पर्दापछि एक महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
रोकाले ‘ज्वाला’, ‘उत्ताल’, ‘अल्लारे’, ‘आफ्नो मान्छे’, ‘चाँदनी’, ‘अर्जुन’, ‘देवता’, ‘आदिकवि भानुभक्त’, ‘नासो’, ‘नाईं नभन्नू ल’, ‘चिनो’, ‘धर्मसङ्कट’, ‘मायाजबार’ लगायत एक सयभन्दा बढी चलचित्रमा काम गरेर नेपाली चलचित्र उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए। उहाँको अनुशासन, समर्पण र सिनेमा प्रतिको निष्ठाले नयाँ पुस्तालाई सधैं प्रेरित गर्दै आएको जनाइएको छ।
उनको निधनले नेपाली चलचित्र क्षेत्रमा अनुभवी, सादगीपूर्ण र कर्तव्यनिष्ठ कलाकार गुमाएको उल्लेख गर्दै यसलाई अपूरणीय क्षति मानिएको छ। नेफ्टा अध्यक्ष पुष्कर लामाका अनुसार शुक्रबार दिउँसो १२ बजेदेखि १ बजेर ३० मिनेटसम्म अन्तिम श्रद्धाञ्जलीका लागि रोकाको पार्थिव शरीर पशुपतिनाथ आर्यघाटमा राखिनेछ।






