बालेन सरकार गठनपछि पहिलोपटक अमेरिकी वरिष्ठ कूटनीतिज्ञ समीर पल कपुर काठमाडौं आउँदै

अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आगामी सोमबार काठमाडौं आउने तयारीमा छन्। कपुरले काठमाडौंमा उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीसँग भेट्ने योजना बनाएका छन्। उनको भ्रमण तीन दिनको हुनेछ र बुधबार टर्किस एयरलाइन्समार्फत फर्कने योजना छ।
भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आउनेछन्। गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि यो भूमिका डोनाल्ड लुले सम्हाल्दै आएका थिए।
वाशिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै द काठमाडौं पोष्टले कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने जानकारी दिएको छ। कपुर वाशिङ्टनबाट टर्किस एयरलाइन्समार्फत काठमाडौं आउने र बुधबार सोही विमानमार्फत फर्किनेछन्। तर, यो भ्रमणको औपचारिक घोषणा अहिलेसम्म गरिएको छैन। परराष्ट्र मन्त्रालयले पनि समाचार तयार पार्दासम्म औपचारिक जानकारी दिएको छैन। यदि उनी सोमबार काठमाडौं आए भने बालेन नेतृत्वको सरकार गठनपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुनेछन्।






