
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको संख्या बढेको जनाएको छ। जुम्लामा करिब ९० प्रतिशतले अनलाइनबाट मतदाता नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी दीपेन्द्र कँडेलले बताए। हालसम्म ३३५ जना राष्ट्रिय परिचयपत्रमार्फत र पाँच जना कार्यालयमा उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गरिसकेको छ। ५ वैशाख, जुम्ला।
राष्ट्रिय परिचयपत्र नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’ बाट नाम दर्ता गर्नेहरुको संख्या वृद्धि भएको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिएका छन्।
उनका अनुसार आवेदन दिएका मध्ये करिब ९० प्रतिशतले अनलाइनबाटै नाम दर्ता गराएका छन्। हालसम्म राष्ट्रिय परिचयपत्रबाट ३३५ र कार्यालयमा भौतिक रूपमा उपस्थित भएका पाँच गरी जम्मा ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन अधिकारी कँडेलले बताए। मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न यहाँका सबै स्थानीय तहलाई पत्राचार गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४५९ पुरुष मतदाता गरी जम्मा ७१ हजार ७३९ मतदाता कायम रहेको थियो।






