Skip to main content

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु सेवनबाट दुई बालकको मृत्यु, आमा र भाइ बिरामी

५ वैशाख, धनगढी। कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ। बिहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ का ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू दुवै सहोदर दाजुभाइ हुन्। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश विष्टले दुवै बालकको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन्।
उनका अनुसार मरेको ब्रोइलर कुखुराको मासु खाएका मृतक बालककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकार अहिले प्रादेशिक अस्पतालमै उपचाररत छन्। घटना बिहीबार भएको भए पनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो। त्यसपछि प्रहरीको समन्वयमा उनीहरू चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो। प्रहरीले पत्ता लगाएको अनुसार उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेका थिए। फार्म सञ्चालक मंगल साउँद आफैं इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर आफ्नो बयान दिएका छन्। प्रहरीले उनलाई बोलाउँदा हाजिर हुनुपर्ने गरी आफन्तको जिम्मा लगाइएको जनाएको छ।