
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ‘बिग स्कूल’ मोडेलमा ४२ विद्यालयलाई मर्ज गरी ३६ कायम गरेको छ। नगरपालिकाले कम्तीमा एउटा कक्षामा १५ जना विद्यार्थी हुनु पर्ने मापदण्ड लागू गरी साना विद्यालयलाई ठूला विद्यालयमा समायोजन गरेको छ। संस्थागत विद्यालयमा २३ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था पारदर्शी र लक्षित वर्गलाई प्राथमिकता दिँदै गरिएको छ।
सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्न तिलोत्तमा नगरपालिकाले ‘बिग स्कूल मोडेल’मा अघि बढ्न सुरु गरेको छ। अत्यन्त कम विद्यार्थी संख्या भएका विद्यालयको शैक्षिक स्तर कमजोर र लगानीको परिणाम नआएको ठहर गर्दै तिलोत्तमा ठूला विद्यालय (बिग स्कूल) मोडेलमा अघि बढेको हो। हाल तिलोत्तमामा एक गुठी सहित ४२ सरकारी विद्यालयमा १९ हजारभन्दा बढी र ४२ संस्थागत विद्यालयमा २३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
नगरपालिकाले विद्यालय मर्जसँगै शैक्षिक सुधारका लागि मापदण्ड तयार गरी लागू गरेको छ। मापदण्ड अनुसार कम्तीमा एउटा कक्षामा १५ जना विद्यार्थी हुनु पर्ने व्यवस्था गरिएको छ। मापदण्ड नपुगेका विद्यालयलाई ठूला विद्यालयमा समायोजन गरिएको छ भने मापदण्ड पूरा गरेका विद्यालयलाई यथावत राखिएको छ। पहिलो चरणमा नगरभित्रका एक गुठीसहित ४२ वटा सरकारी विद्यालयमध्ये ६ वटा साना विद्यालयलाई नजिकका ठूला विद्यालयमा गाभेर ३६ वटा कायम भएका छन्।
नगर प्रमुख रामकृष्ण खाँणले बिग स्कूल मोडेलमा गएर सरकारी विद्यालयको गुणस्तरमा आमूल सुधार ल्याउने उद्देश्यका साथ ९ सदस्यीय कार्यदलले दुई महिना स्थलगत अध्ययन गरेर तयार पारेको रिपोर्टका आधारमा विद्यालय मर्ज गर्ने निर्णय गरिएको बताए। नगरपालिकाका सामाजिक विकास शाखा संयोजक रवि सेन्चुरीले भने, ‘छात्रवृत्ति वितरणलाई थप व्यवस्थित बनाइसकिएको छ, कुल २३ हजारभन्दा बढी विद्यार्थी मध्ये २३ सय बढीले पूर्ण छात्रवृत्ति पाउनेछन्।’






