इरान तनावः अमेरिकाको वाचा नपुरा भएपछि इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्यो

अमेरिकाले दिएको वाचा पूरा नगरेको आरोपमा इरानी सेनाले होर्मुज जलमार्गलाई पुनः बन्द गरेको छ। शुक्रबार उक्त जलमार्ग खुल्ने घोषणा भएपछि विश्व बजारमा सकारात्मक प्रभाव देखिएको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नहुँदासम्म अमेरिकाले खाडी क्षेत्रबाट निस्कने पानीजहाजहरूमा नाकाबन्दी जारी राख्ने भन्दै बताएका थिए। मरिन ट्रयाकिङ डेटाहरूले चारवटा एलपीजी ग्यास बोकेको पानीजहाज तथा थुप्रै तेल र पेट्रोकेमिकल ट्याङ्करहरू सो जलमार्गबाट ओमानको खाडीतर्फ गएको देखाएका छन्। अमेरिकी सेन्ट्रल कमान्डले सोमबार गरेको नाकाबन्दीपछि २१ वटा पानीजहाजलाई फर्काएको जनाएको छ।
इस्लामिक रिभोल्युश्नरी गार्ड कोर (आईआरजीसी)सँग आबद्ध फार्स समाचार एजेन्सीले आईआरजीसीको विज्ञप्ति उद्धृत गर्दै इरानी सेनाले होर्मुज जलमार्गमाथि पुनः नियन्त्रण लगाएको बताएको छ। सेनाले अमेरिकाको ‘तथाकथित नाकाबन्दी’लाई ‘सामुद्रिक डकैती’ भन्दै असन्तुष्टि जनाएको छ। अमेरिकाले जलमार्गमाथिको नाकाबन्दी हटाउने वाचा पूरा नगरेको कारण होर्मुज जलमार्ग पुनः बन्द गर्न बाध्य भएको इरानी सेनाले जनाएको छ।
स्ट्रेट अफ होर्मुजको सञ्चालन अमेरिका र इरानबीच विवादको विषय बनेको छ। शुक्रबार राष्ट्रपति ट्रम्पले दुई देशबीच सहमतिको नजिक पुगेको बताएका थिए। तर इरानी संसदका सभामुखले यसलाई अस्वीकार गरेका छन्। यसअघि शुक्रबार इरानका विदेशमन्त्रीले व्यापारिक जहाजहरूका लागि होर्मुज जलमार्ग पुनः खुला भएको र जहाजहरूले तोकिएका सुरक्षित मार्गहरू प्रयोग गर्नुपर्ने बताएका थिए। सरकारी टेलिभिजनले ‘एक वरिष्ठ सैनिक अधिकारी’लाई उद्धृत गर्दै जहाजहरूले तोकिएका मार्गहरू प्रयोग गर्न पाउने तर सैनिक जहाजहरूको आवागमन अझै प्रतिबन्धित रहेको जानकारी दिएको छ।






