Skip to main content

सर्वोच्च अदालतको निर्णयपछि खड्का निवासमा पूर्वपदाधिकारीसहितको बैठक जारी

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले फैसला सुनाएपछि, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आफ्ना समूहका उच्च नेतासँग छलफलमा व्यस्त भएका छन्। सोही क्रममा खड्काले दिउँसो पूर्वपदाधिकारी, निवर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसहित बैठक बोलाएका छन्। बैठक गोल्फुटारस्थित खड्काको निवासमा सञ्चालन भइरहेको छ। बैठकमा खड्कासँगै पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह तथा नेताहरू एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखक समेत सहभागी छन्। स्रोतका अनुसार, निवर्तमान केन्द्रीय कार्यसमितिका केही अन्य सदस्यहरू पनि बैठकमा सहभागी छन्। निवर्तमान कार्यवाहक सभापति खड्काले बोलाएको बैठकमा डा. शेखर कोइराला र उनी पक्षधर नेताहरू सहभागी भएका छैनन्। यसअघि शुक्रबार सर्वोच्च अदालतले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन गरेको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णयलाई प्रमाणीकरण गरेको थियो। आयोगको सो निर्णयविरुद्ध १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। सर्वोच्चको निर्णय आफ्नो विपक्षमा आएपछि सो समूहले उक्त निर्णयलाई अनपेक्षित बताएको छ। खड्काले आफ्ना शीर्ष नेतासहित छलफल गरी भोलि आइतबार आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।