
जापानमा चलिरहेको कम्युनिटी कप ४० ओभर लिग क्रिकेटमा नेपाली मूलका खेलाडी विकास खड्काले ऐतिहासिक प्रदर्शन गरेका छन्। सैतामा रोयल्स क्रिकेट क्लबका २० वर्षीय विकासले अविजित ३०९ रन बनाउँदै जापान क्रिकेट इतिहासकै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर कायम गरेका हुन्। उनले १२९ बलमा २५ चौका र २९ छक्का प्रहार गरे।
सैतामा रोयल्सले ४० ओभरमा ८ विकेट गुमाउँदै ५११ रनको विशाल योगफल तयार पार्यो। टिमका लागि शाका मोहम्मदले ६८ रन बनाए भने सिद्धार्थ खड्काले १९ रन जोडे। ५१२ रनको लक्ष्य पछ्याएको टोकियो डेयरडेभिल्सले २० दशमलव १ ओभरमा मात्र १३० रनमै सबै विकेट गुमाएर अलआउट भयो। यस जितसँगै सैतामा रोयल्सले ठूलो अन्तरले जीत दर्ता गर्दै कम्युनिटी कपमा उत्कृष्ट प्रदर्शन गरेको छ।






