Skip to main content

छैटौं एसियन बिच गेम्सका लागि खेलाडीहरूको बिदाइ

नेपाल ओलम्पिक कमिटीले छैटौं एसियन बिच गेम्स २०२६ मा सहभागिता जनाउन जाने महिला कबड्डी टिम र कुस्तीका खेलाडीहरूको बिदाइ गरेको छ। पुरुष कुस्तीमा सुरेश चुनारा र त्रिलोकी प्रसाद यादवले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ सुशिला चन्दले ७० केजी तौल वर्गमा प्रतिस्पर्धा गर्नेछिन्। ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीहरूसँग नेपालको नाम उच्च राख्दै उत्कृष्ट प्रदर्शन गर्ने अनुरोध गर्नुभयो।

६ वैशाख, काठमाडौं। छैटौं एसियन बिच गेम्स २०२६ मा नेपालबाट प्रतिनिधित्व गर्ने दुई खेलका खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीले बिदाइ गरेको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार कमिटीको कार्यालय सातदोबाटोमा उनीहरूलाई बिदाइ गरेको हो। चीनको सान्या शहरमा हुने उक्त प्रतियोगितामा नेपालबाट दुई खेलतर्फ सहभागिता रहनेछ। महिला कबड्डी टिम र कुस्ती खेलले नेपाललाई प्रतिनिधित्व गर्नेछन्।

नेपालको लागि यस प्रतियोगितामा कबड्डीमा ६ खेलाडीसहितको टिम हुनेछ भने कुस्तीमा पुरुषतर्फ दुई र महिलातर्फ एक खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ सुरेश चुनारा ८० किलो तौल वर्गमा र त्रिलोकी प्रसाद यादव ९० केजी माथिको तौल वर्गमा प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ सुशिला चन्द ७० केजीमा हिस्सा लिनुहुनेछ। खेलाडीहरूलाई बिदाइ गर्दै ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उच्च राख्न आग्रह गर्नुभयो।

उनले यस पटक धेरै खेलमा नेपाली खेलाडीहरूलाई सहभागी गराउन नसकेकोमा दुःख व्यक्त गर्दै सहभागी खेलाडीहरूलाई राम्रो प्रदर्शन गरि नेपालको सम्मान बढाउन शुभकामना व्यक्त गर्नुभयो। “विश्वस्तरका आधारमा सहभागी हुने खेलहरू सीमित भएकाले धेरै खेल समावेश गर्न नसके तापनि सहभागीहरूले नेपालको नाम गौरवान्वित बनाउने अपेक्षा छ,” उहाँले भन्नुभयो। बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैध, महासचिव राजिव श्रेष्ठ लगायतका पदाधिकारीहरू उपस्थित थिए। नेपाली टोलीको सेभ द मिसनमा राम कृष्ण श्रेष्ठ (बोस) रहेका छन।